arrow

सुप्रिम मल्ल ठकुरीलाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
supreme-malla-thakuri-samman-pokhara.jpg

पोखरा । सरुभक्त केन्द्रद्वारा स्थापित ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार-२०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिएको छ ।

रु ५० हजार राशिको सो पुरस्कार पोखरामा आयोजित समारोहमा पुरस्कारका संस्थापक साहित्यकार सरुभक्त, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, शिक्षासेवी जर्ज जोनलगायतले संयुक्तरूपमा ठकुरीलाई हस्तान्तरण गरे । 

एघार वर्षको उमरमै गायनमार्फत नेपाली गीतसङ्गीतमा पुर्याएको योगदानबापत उनलाई पुरस्कृत गरिएको केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए । 

बाजुराको हिमाली गाउँपालिका-६ मा जन्मी हाल काठमाडौँको महर्षी स्कुलमा कक्षा ६ मा अध्ययनरत ठकुरीका लोकदोहोरी, चलचित्र, आधुनिक गरी हालसम्म एक सय ९० वटा गीत रेकर्ड भएर सार्वजनिक भइसकेको उनको भनाइ छ ।

यसअघि ठकुरी ‘भ्वाइस अफ् किड्स’ कार्यक्रमको पहिलो संस्करणमा ‘फस्ट रनरअप’ भएका थिए ।

उनी ‘रारा राष्ट्रिय म्युजिक अवार्ड’, ‘उत्कृष्ट बालप्रतिभा अवार्ड’, ‘क्विन्स बाल स्वरसम्राट अवार्ड’लगायत अवार्ड तथा पुरस्कारबाट पनि सम्मानित भइसकेका छन् । 

आफ्नो प्रतिभामार्फत देशको इज्जत र प्रतिष्ठा कायम गर्न सफल बालप्रतिभालाई प्रोत्साहन दिने ध्येयले पुरस्कार स्थापना गरेको संस्थापक सरुभक्तले बताए । 

केन्द्रले साहित्य, कला, सङ्गीत, खेलकुद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कारलगायत क्षेत्रमा विशिष्ट प्रतिभा देखाउन सफल १६ वर्षमुनिका बालबालिकालाई पुरस्कृत गर्दै आएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताए ।

विसं २०५७ मा पर्वतारोहण क्षेत्रतर्फ तेम्वाछिरी शेर्पा, विसं २०५८ मा नृत्यमा ज्योति थापा, विसं २०६० मा गायनतर्फ ऋतु लामा, कलामा विसं २०६१ म शिखा कटुवाल, विसं २०६२ मा कला क्षेत्रमा करुणा गुरुङ, विसं २०६४ मा खेलकुदतर्फ सिपोरा गुरुङ, विसं २०६५ मा विज्ञान तथा प्रविधितर्फ कुशल केसी र विसं २०६९ मा पर्वतारोहणमा निमा छ्याङ्दी शेर्पालाई उक्त पुरस्कार प्रदान गरिएको थियो । 

विसं २०६९ देखि स्थगन भएको ‘राष्ट्रिय बालप्रतिभा पुरस्कार’लाई यस वर्षदेखि ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’का नाममा वितरण गरिएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताए ।

साहित्यकार एवं सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले आफ्ना बुवा गणेशबहादुर र आमा लक्ष्मीमायाको स्मृतिमा रु ११ लाख ५० हजारको अक्षयकोष स्थापना गरी केन्द्रमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

आफूले पाएका विभिन्न पुरस्कार र परिवारका सदस्यबाट प्राप्त सहयोगबाट उक्त कोष स्थापना गरिएको संस्थापक सरुभक्तले बताए ।

कोष सञ्चालन, प्रतिभा पहिचान, पुरस्कार वितरणलगायतका काम केन्द्रमार्फत सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

यसअघि रहेको ‘साहित्यकार सरुभक्त सरोकार केन्द्र’लाई नाम परिमार्जन गरी गत वर्ष ‘सरुभक्त केन्द्र’ बनाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ