- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । क्यानडा विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृंखला जितका लागि नेपालले २३३ रनको चुनौती पछ्याउँदैछ ।
सोमबार बिहान कीर्तिपुर मैदानमा टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा दुई सय ३२ रनमात्र बनाउन सक्यो ।
क्यानडाका लागि नवनित धलिवालले ५० तथा निखिल दत्तले ४५ रन बनाए । कप्तान साद बिन जाफरले १५ बलमा अविजित रहँदै ३१ रन बनाए ।
नेपालका लागि हेमन्त धामीले ३ तथा कुशल मल्लले २ विकेट लिए । त्यस्तै ललित राजबंशी, आकाश चन्दले १ विकेट लिए ।
यो खेल जित्दा नेपालले तीन खेलको श्रृंखलामा ह्वाइटवास ३–० को जित हासिल गर्नेछ । यसअघिका दुवै खेल जितेर नेपालले श्रृंखलामाथि कब्जा जमाइसकेको छ ।
नेपालले सन् २०१८ मा एक दिवसीय मान्यता पाएपछि पहिलो पटक क्यानडासँग औपचारिक एक दिवसीय श्रृंखला खेलेको हो ।
नेपालको प्रशिक्षण मोन्टि देसाईले गरेका छन् भने क्यानडाको प्रशिक्षण नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका छन् । यो खेललाई विश्व लिग–२ को तयारी स्वरुप लिइएको छ ।
दोस्रो खेलको नतिजा
कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरेसँगै नेपालले क्यानडालाई लगातार दोस्रो एक दिवसीय क्रिकेटमा हरायो । पहिलो खेल ७ रनले जितेको नेपालले दोस्रो खेल ३ विकेटले आफ्नो पक्षमा पार्न सफल भएको हो ।
२८६ रनको चुनौती नेपालले ४७ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेल्ने क्रममा १०१ बलमा ८७ रन बनाए । ४ छक्का र ८ चौका हानेका रोहित शतक बनाउनबाट भने चुके ।
त्यस्तै यू–१९ टिमका कप्तानसमेत रहेका देव खनालले ८१ बलमा ७६ रन जोडे । ओपनर अनिल साहले २० बलमा ३ छक्का र ७ चौकाको मद्धतले ५० रन बनाए ।
यसअघि क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २८५ रन बनायो । आरोन जोन्सनले ६५ रन बनाएको इनिङ्समा कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिए ।
पहिलो पटक क्यानडासँग एक दिवसीय श्रृंखला खेलिरहेको नेपालको मनोबल उच्च छ । यसअघि नेपालले क्यानडा विरुद्धको पहिलो खेलमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो ।
पहिलो खेलको नतिजा
नेपालले क्यानडालाई ७ रनले हरायो । नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिए ।
२२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनायो ।
जित नजिक पुगेर पनि पछिल्लो ४३ रन जोड्न क्यानडाले ७ विकेट गुमाएपछि हारको सामना गर्नुपरेको हो । क्यानडाले ३२.५ ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाइसकेको थियो ।
निकोलस किर्टनले ६८, पार्गत सिंहले ५० तथा हर्ष थाकेरले ३२ रन बनाएका थिए । स्पिनरहरु चम्किएको खेलमा रोहितले ८.५ ओभर बलिङ गर्दै २ मेडन राख्दै २२ रनमात्र खर्चेका थिए ।
त्यस्तै ललित राजबंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिए ।
यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा बिहान टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर निर्धारित ५० ओभरमा २२४ रन बनायो ।
ओपनर कुशल भुर्तेलले ५८ बलमा सर्वाधिक ६२ रन जोडे । त्यस्तै आरिफ शेखले ५० बलमा ३८ तथा सोमपाल कामीले २३ बलमा दुई छक्काको मद्धतले २७ रन बनाए ।
त्यस्तै कुशल मल्लले ३२ बलमा २०, भिम शार्कीले २६ बलमा १७, पवन सर्राफले ३४ बलमा १५ तथा सूर्य तामाङले ३२ बलमा अविजित रहँदै १० रन जोडे । अन्य चार खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए ।