arrow

अवैध सुन प्रकरण

सुन तस्करीसँग जोडिएका चिनियाँहरुसँग बयान

छानबिन आयोगले अहिलेसम्म लियो महरासहित तीन सय जनासँग बयान, अनुसन्धान अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
60kg-illegal-gold-scandle.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सुन तस्करीसँग जोडिएका चिनियाँ नागरिकसँग सुन तस्करीबारे छानबिन गर्न बनेको आयोगले बयान लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर करिब ६१ किलो सुन समातिएको तीन महिनापछि सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक फ्लोरेन्ससहित चार जनासँग बयान लिएको हो ।

 ‘भाषा अनुवादक राखेर बयान लिनु परेको थियो, उनीहरुले सञ्चालन गरेको क्यासिनोमा सुन तस्करीमा आबद्ध रहेका चिनियाँ नागरिकहरु गएर जुवा खेलेका थिए, त्यसकारण बयान लिनु परेको हो’, आयोगका एक सदस्यले भने । 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले अन्य शंकित व्यक्तिहरुलाई पनि बयान लिने क्रममा फ्लोरेन्ससहित चार जनासँग बयान लिएर प्रतिवेदन तयार पार्न लागेको  हो । 

आयोगको समयसीमा सकिन लाग्दा ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालकसँग बयान लिएर सुन तस्करीको नेक्सस पत्ता लगाउनेक्रममा रहेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयार पारेको प्रतिवेदनको आधारमा छायाँ सेन्टरमा रहेको क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक फ्लोरेन्ससहित चार जनासँग दोभाषेमार्फत उनीहरुसँग बयान लिँदा तस्करीमा जोडिएका ली हानसोन, याओ पोचुङ लगायतको बारेमा जानकारी नभएको बताएका थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणका चिनियाँ अभियुक्तको सम्बन्ध क्यासिनो वाल्डोसँग जोडिएको थियो । 

मुख्य आरोपी याओ पुचिङ नियमित रुपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो । सीआईबीले यसअघि गरेको अनुसन्धानका क्रममा अधिकृतहरुले क्यासिनोको सीसी टीभी फुटेज पनि बरामद गरेको थियो । 

त्यस क्रममा सुन प्रकरणका चिनियाँ आरोपीहरु क्यासिनोमा पुगेको फुटेजमा देखिएको थियो । क्यासिनो सञ्चालकले सुन प्रकरणका आरोपी त्यहाँ गए पनि कारोबारबारे जानकारी नभएको बताएको स्रोतको दाबी छ । 

विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप) मा तथा २ साउनमा ब्रेकसुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटक–पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरपूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक–पटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानबिन अनुसन्धान गरी कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्न आयोगको कार्यादेश रहेकाले सोही मुताबिक काम गरिरहेको छ  ।

अनुसन्धानकै क्रममा आयोगले माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, चुडामणी उप्रेती गोरे, थुनामा रहेका तिब्बती मूलका भारतीय नागरिक दावा छिरिङ, चिनियाँ नागरिकलगायत करिब ३ सय मानिसहरुसँग बयान लिइसकेको छ । 

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले अहिले अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँदै केही सशंकित मानिसहरुलाई सोधपुछ गर्ने क्रम जारी रहेको बताए । 

आयोगका अध्यक्ष आचार्यले सुनको अवैध तस्करीका विषयमा यसअघि भएका अनुसन्धान लगायतका सन्दर्भ सामग्रीहरुको अध्ययन भैरहेको बताए । गृह मन्त्रालयअन्तर्गत भएका अनुसन्धान र छानबिन, संसदीय समितिले गरेका अध्ययन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदन पनि जाँचबुझ आयोगले अध्ययन गरिरहेको अध्यक्ष आचार्यको भनाइ छ। ‘सुनको अवैध तस्करीलाई सकेसम्म निमिट्यान्न पार्न कसरी सकिन्छ भनेर हामी आफ्नो वुद्धि र विवेकले भ्याएसम्म काम गर्छौं’,  आयोग अध्यक्ष आचार्यले भने । 

३३ किलो अवैध सुन बरामदपछि गृह मन्त्रालयले गठन गरेको नौ सदस्यीय कार्यदलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदन आचार्य नेतृत्वको आयोगले प्राप्त गर्न सकेको छैन । गृहका तत्कालीन सहसचिव ईश्वरी पौडेलको संयोजकत्वमा बनेको सो कार्यदलले तयार गरेको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक पनि गरेको छैन । 

त्यसैगरी वर्तमान आयोगले तत्कालिन सांसद परी थापाको नेतृत्वमा संसदले बनाएको छानविन समितिको प्रतिवेदन पनि अध्ययन गरिरहेको छ । सरकारले गत असोज १४ गते उच्च अदातलका पूर्व न्यायाधीश आचार्यको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको थियो । 

आयोगको सदस्यमा पूर्व सहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन् ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब ६१ किलो सुन बरामद गरेको थियो । शुरुमा यही सुन प्रकरणबारे विभाग र पछि सरकारको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेका थिए ।

सुन तस्करीमा संलग्न विभिन्न राजनीतिक परिवारका सदस्यसहितका व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ