arrow

सशस्त्रमा डीआईजी बढुवाको तयारी, तीन एसएसपी प्रतिस्पर्धामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
apf-armed-police-force-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले रिक्त रहेको एक डीआईजी पदमा बढुवाको तयारी गरेको छ । सरकारले एक एआईजी पनि थप गर्ने सोच बनाइरहेका बेला रिक्त रहेको डीआईजीमा मात्र  बढुवाको तयारी गरेको हो । 

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि ७ दिने सूचना निकालिसकेको छ ।

केही समयअघि सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिदुर खड्का अनिवार्य अवकाश पाएपछि एक डीआईजी खाली रहेको थियो । सशस्त्र प्रहरीको बढुवा समितिको सचिवालयले बिहीबार सूचना निकाल्दै रिक्त रहेको एक पदका लागि बढुवाका सम्भाव्य उम्मेदवार रहेकालाई दरखास्त आह्वान गरेको हो । 

सूचनामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाण–पत्रका प्रतिलिपिहरुसहित फारम भरेर बुझाउनु पर्ने छ । 

सचिवालयका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले जारी गरेको सूचनामा सशस्त्र प्रहरी नियमावलीको नियम ४० बमोजिम बढुवाका सम्भाव्य उम्मेदवार रहेका एसएसपीहरुले नियमावलीको नियम ५१ सँग सम्बन्धित अनुसूची १३ बमोजिमको मूल्याङ्कन फाराम भरेर सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको छ ।

यसपल्टको बढुवाका लागि प्रबन्ध शाखाको कमाण्ड सम्हालेका एसएसपी दीपेन्द्र कुँवर, मनिष थापा, विनोदराज श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् । एक पदका लागि तीन जना प्रतिस्पर्धामा रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ