arrow

महिला प्रिमियर कप क्रिकेट

मलेसियाविरुद्ध नेपाल टस जितेर ब्याटिङमा,  विजेताले फाइनलमा यूएईसँग खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
nepal-women-cricket-2024-al.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनलमा नेपालले अहिले आयोजकसँग खेलिरहेको छ । 

नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । यो खेलको विजेताले उपाधिका लागि फाइनलमा आइतबार यूएईसँग खेल्नेछ । बिहान भएको पहिलो सेमिफाइनलमा यूएईले थाइल्याण्डमाथि रोमाञ्चक चार रनको जित हासिल गर्यो । 

यूएईले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ७० रन बनाएको थियो । जवाफमा थाइल्याण्ड चार बल बाँकी छँदै अलआउट भएर ६६ रनमात्र बनाउन सक्यो । 

यसअघि क्वार्टरफाइनलमा कुवेतमाथि सहज जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । ७४ रनको सामान्य चुनौती नेपालले वर्षाका कारण पुनः चुनौती घटेर १२ ओभरमा ५० रन बनाउनु परेपछि ६.५ ओभरमै २ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपाल ८ विकेटले विजयी भयो । नेपालका लागि कप्तान इन्दू बर्माले २१ बलमा अविजित रहँदै २२ तथा सीता राना मगरले १५ बलमा १७ रन जोडिन् । त्यस्तै कविता जोशीले १ बलमा अविजित रहँदै ४ तथा कविता कुँवरले ४ बलमा १ रन बनाइन् । 

यसअघि वाईएसडी ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले ९ विकेटको क्षतिमा ७३ रन बनाउन सक्यो । नेपालका लागि सीता रानामगरले ह्याट्रिक गरिन् । उनले आफ्नो दोस्रो ओभरमा ह्याट्रिक गरेकी हुन् । उनले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । 

त्यस्तै कविता कुँवरले ९ रन खर्चेर २ तथा रुबिना क्षेत्री बेल्वाशीले १० रन खर्चेर २ विकेट लिइन् । कुवेतका लागि ओपनर प्रियदा मुरलीले सर्वाधिक २९ रन जोडिन् । 

नेपाल समूह चरणमा अपराजित रहदै समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको थियो । नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो । 

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, यूएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वार्टरफाइनलमा पुगेका थिए । 

त्यसैगरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका थिए ।

माल्दिभ्समाथि नेपालको कीर्तिमानी जित, के के बने रेकर्ड ?
एसीसी महिला प्रिमियर लिग टी–२० क्रिकेटको तेस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको हो । 

मलेसियाको क्वालालाम्पुरमा नेपाल २१४ रनको फराकिलो अन्तरले विजयी भएको हो । यो जित अहिलेसम्मकै फराकिलो जितको कीर्तिमान हो । 

टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २२७ रन बनायो । यो टी–२० मा नेपालले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो । नेपालका लागि पूर्व कप्तान रुबिना क्षेत्री बेल्बासीले ५९ बलमा अविजित रहँदै कीर्तिमानी ११८ रन बनाइन् ।

यो कुनै पनि नेपाली महिला क्रिकेटरको पहिलो शतक हो । सो क्रममा उनले ५ छक्का प्रहार गरिन् । अहिलेसम्म एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने पनि रुबिना पहिलो नेपाली खेलाडी बनेकी छिन् । 

त्यस्तै पूजा महतोले ३६ बलमा अविजित रहँदै ५९ रन जोडिन् । पाँचौँ विकेटका लागि रुबिना र पूजाले ८२ बलमा अविजित १६६ रनको कीर्तिमानी साझेदारीसमेत गरेका छन् । अहिलेसम्म कुनै पनि विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो । 
जवाफमा माल्दिभ्सले १३.५ ओभरमा अलआउट हुँदै १३ रनमात्र बनाउन सक्यो । कप्तान सुमयाबिन्थ ए हमीदले सर्वाधिक ५ रन बनाएको इनिङ्समा ६ खेलाडीले खातासमेत खोल्न सकेनन् । 

नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा अलराउन्डरद्वय रुबिना र पूजाले ३–३ विकेट लिए । 

नेपाल समूहका सबै खेल जितेर समूह विजेता बन्दै क्वार्टरफाइनल पुगेको हो । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ