arrow

अवैध सुनकाण्डमा मुछिएको प्रमाणबीच अग्रवाललाई छाड्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
rajaswa-anusandhan-bibhag.jpg
तस्बिर – फाइल ।

काठमाडाँैं । हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाललाई राजश्व अनुसन्धान विभागले सामान्य धरौटीमा रिहाइको तयारी गरेको छ । 

पक्राउ परेको एक महिनापछि विभागले राम्रोसँग अनुसन्धान नगरी छाड्ने तयारी गरेको हो । सुन तस्करीको रकम हुण्डीमार्फत पठाउन तयारी गरेको अवस्थामा सशस्त्र प्रहरीको इन्टेलीजेन्स ब्युरोले बरामद गरी राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो । 

तर विभागले उनको मोबाइलमा भएको आवश्यक प्रमाणलाईसमेत ध्यान नदिई अनुसन्धान टुंग्याएर अर्धन्यायिक हिरासतबाटै छुटाउने तयारी गरेको हो ।

‘संभवत अग्रवाललाई आइतबारकै सुनुवाइबाट हिरासतमुक्त गरिनेछ’, विभाग स्रोतले भन्यो ।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको ९ किलो सुन र सोही विमानस्थलबाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट नै अग्रवाल भएको तथ्यहरु बरामद भए पनि विभागले सो विषयमा राम्रोसँग अनुसन्धान नगरेको स्रोतको दाबी छ ।  

सुन जोख्ने मेसिन र ‘कल डिटेल’ का आधारमा रकम भुक्तानीमा उनको संलग्नता देखिएको थियो । उनी माघ ३ गते राति क्षेत्रपाटीबाट पक्राउ परेका थिए । त्यस क्रममा उनको घरबाट सुन जोख्ने मेसिन बरामद गरिएको थियो । 

उक्त मेसिन र कारोबारका क्रममा भएको ‘कल डिटेल’ मा राजस्व अनुसन्धान विभागले गठन गरेको अनुसन्धान समितिले अनुसन्धान गर्दा सुन तस्करीका दुवै प्रकरणमा रकम भुक्तानीमा उनको संलग्नता देखिएको भए पनि विभागका प्रमुख नवराज ढुंगानाले सामान्य धरौटीमा छाड्न लागेका हुन् ।

पक्राउ पर्दा त्यतिबेला उनको घरबाट २ करोड नेपाली रुपैयाँसहित २ हजार अमेरिकी डलर र अन्य देशका मुद्रा पनि बरामद गरेको थियो । 

त्यस क्रममै उनको घरबाट सुन जोख्ने मेसिन पनि बरामद भएको थियो । ढुंगाना नै राजश्व अनुसन्धान विभागमा गएपछि विमानस्थलबाट बाहिरिएको करिब ६१ किलो सुन बरामद भएको थियो । 

त्यतिबेला नै अग्रवालको नाम मुछिएपछि उनलाई पक्राउ गरिएको थिएन । तर सशस्त्र प्रहरीको इन्टेलीजेन्स व्युरोले तीन ओटा तह पार गरेर अग्रवाल निवासमा पुगी पक्राउ गरी राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो ।
 
विभागले उनको कारोबारबारे पनि उन्मुक्ति दिन खोजेको छ । नेपालमा प्रतिबन्ध रहेको यूएसडीटीमार्फत कारोबार गरिरहेकाबारे अनुसन्धानको गहिराईमा नपुगी मोबाइल हराएको र अर्को मोबाइल फर्म्याट भएको भन्दै प्रमाण नष्ट गराइएको स्रोतको दाबी छ । 

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार अग्रवालले एक दिनमै करोडौँ रुपैयाँ कारोबार गरेको पाइएको छ ।

‘उनको दैनिक कारोबार नै अवैध रुपमा २ देखि पाँच करोडको रहेको छ, यो कसरी संभव भयो भन्ने अनुसन्धानको गहिराईमा नपुगी अनुसन्धान रोकेर फैसला लेख्नतर्फ लगाइएको’, स्रोतले भन्यो । 

स्रोतका अनुसार रकम पठाउन उनले क्रिप्टोकरेन्सीमार्फत कारोबार गरेका छन् । उनले चिनियाँ नागरिक ली हानसोङ लुईसँग कारोबार गरेको पाइएको छ ।  

अघिल्लो वर्षको पुसमा विमानस्थलबाट हराएको ९ किलो सुन तथा विभागले नै बरामद गरेको करिब ६१ किलो सुनको करोबारमा उनीहरू दुवै जना जोडिएका छन् । अग्रवालले कहाँबाट कति सुन आएको भन्ने जानकारी पनि राख्ने गरेका थिए । 

सुनको रकम भुक्तानी सुरक्षित रूपमा हुन्डीमार्फत नै हुने भएकाले अग्रवालले नेपालको प्रशासनिक र सुरक्षा निकायमा समेत राम्रो प्रभाव राखेको देखिन्छ । सुन तस्करले उनीमार्फत कारोबार गरेको पाइयो’, विभाग स्रोतले भन्यो । विमानस्थल बाहिबाट बरामद सुनको रकम भुक्तानी अग्रवाल र उनको समूहबाटै भएको विभागमा जानकारी आएको पनि स्रोतको दाबी थियो ।

६१ किलो सुन तस्करीमा तीन जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको थियो । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ र ‘अली’ भनेर चिनिने ली वेन सुङ र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका छन् । 

अग्रवालको सम्पर्क र कारोबार पनि उनीहरूसँग देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ