arrow

कर्फ्यु लगाएर सरस्वतीको मूर्ति सेलाइने, डिआइजीको कमाण्डमा ७ सय प्रहरी परिचालन

logo
सञ्जय मिश्रा,
प्रकाशित २०८० फागुन ६ आइतबार
saraswati-statue-river.jpg

रौतहट। रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ। पटक पटक दुई समुदायबीच विवाद हुँदै आएकाले  अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरिएको हो।

बाटो खुलाउने प्रहरीको २४ घण्टा बढीको प्रयास असफल भएर शनिवार दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यु आदेश जारी गरेका हुन् ।  घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा  शनिवार साँझ दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै पक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको सङ्ख्या यकिन नभएको जनाएको छ।

शनिवार साँझ ५ बजेदेखि लागू हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकाको लागि कर्फ्यु आदेश जारी गरिएको छ । घिउरा गाउँका स्थानीयले शुक्रवार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँको उत्तर विद्यालय छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि मूर्ति त्यहीँ सुरक्षित राखिएको प्रहरीले जनाएको छ। तर, सरस्वतीको मूर्ति तथा डिजे बाजामा तोडफोड र क्षति पुर्‍याइएको हिन्दु पक्षले गुनासो गर्दै आएको छ।

उक्त क्षेत्रका नेतृत्व गरिरहेका सङ्घीय संसद् किरण साहको पहलमा सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर  मूर्ति सेलाउन दिने शनिवार सहमति भएको थियो । सहमति विपरीत मुस्लिम समुदायका  केही उच्छृङ्खल युवाहरूले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त  बनेपछि मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञ विनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआइजी दीपेन्द्र साह घटनास्थल पुगेपछि कर्फ्यु आदेश जारी भएको थियो।

कर्फ्यु आदेश जारी भएपछि त्यहाँको अवस्था सामान्य बनेको छ। दुवै समुदायका मानिस आआफ्नो घरभित्र बसिरहेका छन्। हाल कर्फ्यु भित्रै सरस्वती माताको मूर्ति सेलाउने योजना प्रहरीको रहेको छ। मूर्ति सेलाउने क्रममा कुनै अप्रिय नहोस् भनेर घिउरा गाउँमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

जिल्लाको विभिन्न युनिटदेखि प्रदेशबाट थप आएका गरी नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका दुई सय गरी सात सय जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। ईशनाथ- ७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा विवाद सुरु भएसँगै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ स्थलगत खटेका छन्। दुवै समुदायलाई सम्झाइ बुझाइ बिग्रिएको भाइचारा बनाउन सके ठूलो उपलब्धि हुने एसपी श्रेष्ठको भनाइ छ।

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञ विनोद पोखरेल २४ घण्टा देखि ईशनाथ केन्द्रित भएका छन्। उनले दुवै समुदाय विगतको जस्तै मिलेर बसेको जस्तै पुनः मिलाउने आफूहरू प्रयासरत रहेको बताएका छन्।  सङ्घीय सांसद किरण साहले शनिवार भएको दुई पक्षीय सहमति तोड्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्। उनले ट्याक्टर र डिजेमा भएको तोडफोडको क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन्। विगत लामो समयदेखि संसदीय निर्वाचन क्षेत्र- २ अन्तर्गत हिन्दु समुदायले मनाउने पर्व माथि पटक पटक अर्का समुदाय बाट हस्तक्षेपको प्रयास हुँदै आएको छ। सरस्वती पूजा, दुर्गा पूजा, महाबिरी झण्डीमा विभिन्न बाधा अवरोध पुर्‍याइँदै आएको स्थानीयले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ