arrow

कोइरालाको चियापान

महासमिति बैठकको अघिल्लो दिन शेखरको प्रश्न- कांग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
shekhar-koirala-2080-11-06.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ? भनी पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् । जिल्ला जिल्लामा पार्टीका साथीहरूले आफूलाई सो प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ दिने गरी पार्टीको महासमिति बैठकमा प्रस्तुत हुन पनि उनले नेताहरूलाई आग्रह गरे । 

कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुने गरी सोमबारबाट शुरु हुने महासमिति बैठकमा गम्भीर रूपमा छलफल हुनुपर्ने नेता कोइरालाको भनाई थियो । पार्टी महासमिति बैठकको अघिल्लो दिन आइतबार काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले जनमत घटिरहेका बेला सरकारमा बसेका छौं भनेर कांग्रेसले खुशी हुनुपर्ने कुनै कारण नभएको पनि दोहोर्‍याए । 

उनले महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने बताए । विद्यमान निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न कांग्रेसले सबै राजनीतिक दलसँग छलफलका लाग अग्रसरता दिनुपर्ने नेता कोइरालाको प्रस्ताव छ । उनले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिटयान्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि कांग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताए ।

नेता कोइरालाले भने, ‘म जिल्ला जिल्ला घुम्दा खेरी साथीको एउटै प्रश्न हुन्छ–के हामी सधैँ कम्युनिस्ट पछि लागेर हिँड्ने हो ? यो प्रश्न उठाइरहनु हुन्छ । हामीले एक्लै चुनाव कहिले लड्ने हो भनेर सोध्नुहुन्छ । यस पटकको दस्ताबेजमा पनि एउटा कुरा के छ भने हामीले स्थानीय तहमा, प्रदेशमा र केन्द्रमा हामी सरकारमा छौं । बहुमतमा छौं चारैतिर । तर हाम्रो भोट प्रतिशत घट्दै गइरहेको अवस्था छ । त्यो किन घट्यो ? भन्ने कुरा अत्यन्त गम्भीर छ । आज यो ठिक लाग्ला हामीलाई । के भने सरकारमा छँदैछौं भनेर ठिक लाग्ला । तर भोलि हाम्रा सन्ततिहरूले हामीहरूलाई सोच्ने छन् कि छैनन् भन्ने पनि हामीले बुझ्न जरुरी छ । भोट प्रतिशत ३४÷३५ प्रतिशतबाट घटदैघटदै २७ प्रतिशतमा आएको छ क्यारे हाम्रो । साढे ७ प्रतिशत भोट घटेको छ । यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौँ । हामी के मा रमाइराखेका छौ भने केन्द्रमा सरकारको नेतृत्व त हामीले गरेको छैन । तर १० वटा मन्त्रालय त हामीसित छ । यो कुरालाई तपाई महासमितिका साथीहरूले अत्यन्तै गम्भीर रूपले छलफल गर्नुहोला । र, महासमिति बैठकमा पनि यी कुराहरू राख्नु हुनेछ भन्ने विश्वास लिएको छु । दोस्रो कुरा हामीहरूको निर्वाचन प्रणाली नै यस्तो प्रकारको छ । यो निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत दिन सक्दैन । बहुमत आउन पनि सक्दैन । एकातिर हामीहरू संसदीय प्रणाली भन्छौँ । अर्कोतिर बहुमतको सरकार हामीले पाउन सक्दैनौँ, हुन सक्दैन । के निर्वाचन प्रणालीमा हामीले केही परिवर्तन गर्नुपर्छ कि ? भन्नेतिर पनि हामी जानुपर्छ । मलाई के लाग्छ भने अब नेपाली कांग्रेसले पहल गर्नुपर्‍यो । अन्य राजनीति दलहरूसँग पनि बसेर । एमालेसित, माओवादीसित अनि अन्य दलहरूसँग पनि बसेर छलफल गर्नुपर्‍यो । निर्वाचन प्रणालीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा नेपाली कांग्रेसकै अग्रसरतामा हुनु पर्छ भन्ने मलाई लाग्छ । देशको आर्थिक अवस्थाको कुरा गर्दा आज पनि प्रधानमन्त्रीजीले संसद्मा भने–आर्थिक सूचकाङ्कहरू राम्रो हुँदैछ भनेर । अर्थमन्त्रीजीले पनि भन्दै हुनुहुन्छ–आर्थिक सूचकाङ्क राम्रो हुँदैछ भनेर । तर जनताले त्यो सूचकाङ्क राम्रो छ कि छैन ? भन्ने कुराको अनुभूति जनताले पाउन सकेको मलाई लाग्दैन । देशका आर्थिक अवस्था नाजुक अवस्थाबाट गइराखेको छ भन्ने मलाई लाग्छ । हामीहरू रेमिट्यान्स बढेको बढ्यै छ । त्यसमा प्रसन्न, खुशी छों । सरकारमा बस्ने हामी सबै नेपालीहरू खुशी छौं । तर के रेमिटयान्स बढेर देशको समुन्नत नेपाल, समृद्ध नेपाल, विकसित नेपाल हामीहरूले बनाउन सक्छौँ ? रेमिटयान्सको विकल्प अब हामीले खोज्न जरुरी छ । यसको निम्ति नेपाल भित्रै भएका विज्ञहरू र बाहिर भएर विज्ञहरूलाई समावेश गरिकन कसरी नेपाललाई विकसित गर्न सकिन्छ, कसरी नेपाललाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा अत्यन्त गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।’

वरिष्ठ नेता कोइरालाले मुलुकको अर्थतन्त्रको सूचकाङ्क राम्रा छ भनेर प्रधानमन्त्री स्वयंले भने पनि जनताले त्यस्तो अनुभूति गर्न नसकेको जिकिर समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ