arrow

विराटनगरमा पनि औषधि पसलमा छापा

logo
कुमोद अधिकारी.
प्रकाशित २०७३ मंसिर १ बुधबार
morang j.jpg.jpeg

विराटनगर । विराटनगरमा डेढ दर्जन बढी औषधि पसल र ल्यावहरु विना दर्ता सञ्चालन भइरहेका भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको नेतृत्वमा विराटनगरको हस्पिटल चोक आसपासमा वुधबार गरिएको अनुगमनका क्रममा डेढ दर्जन बढी औषधि पसल र ल्यावहरु विना दर्ता सञ्चालन गरिएको पाइएको हो ।

अनुगमनका क्रममा पशुपति उपचार क्लिनिक, गणेश अल्ट्रा साउण्ड, विराट एक्सेरे सेवा, गणपति क्लिनिक, ओसिम मेडिकल तथा शुभम ल्याब क्लिनिक, हाम्रो प्याथोलोजी र फोकस ल्याब बिना दर्ता संचालन गरेको पाइएकाले शिलबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ ।

यस्तै, पपुलर क्लिनिक, रारा डिजिटल एक्सेरे सेवा र कुसुम मेडिकल हलको लाइसेन्स नभएको पाइएको छ । यस्तै, अमूल्य मेडिकेयर सेन्टरले सक्कल प्रमाणपत्र देखाउन नसकेको तथा मुस्कान मेडिकल हलले दर्ता प्रमाणपत्र नदेखाएकाले शिलबन्दी गरिएको छ ।

अनुगमनका क्रममा प्रभात मेडीको, न्यू ओमसाई ल्याब एण्ड क्लिनिक, शुभ स्वस्तिक पोली क्लिनिक प्रालि, गुरु मेडिकल हल, अभिनास फार्मेसी, दिया मेडिकल हल, जीवन रेखा अल्ट्रासाउण्ड, कंचनजंघा औषधि पसलका सञ्चालकले पसल नै बन्द गरेर भागेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले जानकारी दिए ।

  यस्तै, विराटनगरको श्री हस्पिटलले १५ बेडको अस्पताल संचालन गर्ने स्विकृति लिएर ३६ बेड संचालन गरिएको पाइएको छ । टोलीले औषधि पसलहरुलाई आवश्यक कागजपत्र लिएर ७ दिन भित्र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा उपस्थित हुन निर्देशन दिएको छ ।

अनुगमनमा जिल्ला जनस्वास्थ्य कार्यालयका हरिबहादुर खत्री, नविन बराल, औषधि व्यवस्था विभागका प्रमुख शम्भु साह, जिल्ला प्रशासनका अर्जुन सुवेदी, सुरक्षाकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ