- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्कीको मादीमा प्रथम पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिका स्थापना दिवसको अवसर पारेर आयोजित प्रतियोगिता यही फागुन २७, २८ र २९ मा हुनेछ ।
प्रतियोगितामा सहभागिताका लागि गण्डकीका सबै पालिकालाई पत्राचार गरिएको छ । प्रतियोगी टिममा प्रदेशवासी बाहेक अन्य समावेश गर्न नपाइने गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । ‘टिममा पूरै खेलाडी राष्ट्रिय स्तरका भए पनि केही फरक पर्दै, तर पालिकावासी हुन अनिवार्य छ’, उनले भने ।
प्रतियोगिता विजेताले ३ लाख, उपविजेताले २ लाख, तृतीय हुनेले १ र सान्त्वना स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागतरुपमा उत्कृष्ट खेलाडीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।
यस अवसरमा कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल, पालिकाभित्रका विद्यालयका शिक्षकहरुबीच हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । हाजिरीजवाफमा प्रथम हुने टिमले १५ हजार, द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
यसैगरी पालिका भित्रका उत्कृष्ट शिक्षक, कर्मचारी, स्वयंसेविका, कृषक, सहकारी, उपभोक्ता समिति, टोल सुधार समितिका साथै महत्वपूर्ण व्यक्तित्वलाई नगदसहित सम्मान गरिने उनले बताए ।
साथै पालिका भित्रका ज्येष्ठ नागरिकमध्येबाट ग्राम पिता र माता सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ ।
सो अवसरमा प्रत्येक वडाबाट स्थानीय स्तरमा प्रचलित सांस्कृति झाँकी प्रदर्शन, स्थानीय कलाकारद्वारा स्वागत गीत र जनप्रतिनिधिबाट नृत्य प्रस्तुत हुनेछ ।
पालिकाको मुख्य आधार पर्यटन र संस्कृतिको प्रचार प्रसार गर्न, स्थानीय तहबाट नै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन र तयार गर्न प्रतियोगिता कोसेढुंंगा सावित हुने अध्यक्ष गुरुङको विश्वास छ ।
प्रतियोगिताका खेलहरु याङ्जाकोटमै हुनेछ । स्थानीय मिलन युवा क्लबले सहआयोजकको भूमिका निर्वाह गर्ने बताइएको छ ।