arrow

कांग्रेसमा हिन्दू राष्ट्रको मुद्दा

सनातन हिन्दू राष्ट्रको मुद्दालाई आत्मसात् नगरे पार्टीलाई क्षति पुग्छ: शंकर भण्डारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
shankar-bhandari-11-11.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्रको पक्षमा नआए पार्टीलाई क्षति हुने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भण्डारीले नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्रको पक्षमा आउनुपर्ने बताएका हुन् । 

उनले देशलाई सनातन हिन्दू राष्ट्रको रूपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताए । उनले बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दू राष्ट्रको पक्षमा समर्थन गरेको भए पनि पार्टी नेतृत्वले सो कुरालाई आत्मसात् नगरेको बताए । उनले पार्टीले बहुमत महासमिति सदस्यको कुरालाई स्वीकार नगरेमा पार्टीलाई क्षति पुग्ने बताए ।

उनले भने – ‘सनातनीहरुको मूल मन्दिरको रूपमा रहेको देश यसलाई आत्मसात् नगर्नु दुर्भाग्य हो । त्यस कारण कांग्रेस जस्तो राष्ट्रियताको विचार बोकेको पार्टीले यो विषयलाई हिजो गल्ती गर्यौँ अब सच्याएर आत्मसात् गर्दै लोकतन्त्रवादी पार्टी, राष्ट्रवादी पार्टीले यो विषयलाई आत्मसात् गरौँ । यो विषयलाई लिएर जनताको जाऔँ भन्ने हाम्रो कुरा हो । कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार हाम्रो पार्टीको आन्तरिक संरचनामा केन्द्रीय कार्यसमिति भन्दा पनि माथि महासमिति हुन्छ । केन्द्रीय कार्यसमितिको निर्णयभन्दा माथि महासमितिका निर्णय हुन्छन् । यो पार्टीको वैधानिक व्यवस्था हो । त्यत्रो ठुलो उच्च निकायको बैठकमा उपस्थित सङ्ख्या भन्दा धेरै ठुलो प्रतिशतमा महासमितिका नेता साथीहरूले लिखित रूपमा पूर्ण प्रतिविद्धतासहित यो विषयलाई समर्थन गर्नुभएको अवस्था छ । हाम्रो पार्टी लोकतन्त्रवादी पार्टी हो । लोकतन्त्र भनेको जनमतको कदर गर्नु हो । सम्मान गर्नु हो । अर्थात् बहुमतको पालना गर्नु हो । लिखित रूपमा महासमितिका बहुमत सदस्यले हस्ताक्षर गरिसकेपछि हाम्रो नेतृत्वले अझै पनि यो कुरालाई आत्मसात् गरेर खुला रूपमा आत्मसात् गरिरहेको त्यो कुरालाई स्विकारिरहेको अवस्था छैन । तर यसले पार्टीलाई क्षति पुग्छ ।’

उनले संसारका अति समृद्ध मुलुक र अति विपन्न मुलुकहरूले देशको स्वधर्मलाई अवलम्बन गरेका भन्दै नेपाल पनि सनातन हिन्दु राष्ट्र हुनुपर्ने बताए । राजनीतिक स्वार्थका कारण सो मुद्दालाई ओझेलमा पार्नु नहुने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ