arrow

सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ जेल चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
Parbati-hamrakura.jpeg

पर्वत ।  पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

 जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिनुभयो । 

श्रेष्ठसँगै कपास सफ्टवेयरका सञ्चालक प्रतिमान पौडेललाई पनि पुर्पक्षका लागि जेल चालन गर्न आदेश भएको छ । सहकारी ठगीमा श्रेष्ठ २० दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने यसअघि तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी र ग्रामीण विकास कृषि सहकारी संस्थाको ठगी प्रकरणमा प्रतिमान पौडेल पुर्पक्षका लागि थुनामै  थिए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार माता पाथिभरा बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको जनाउँदै बचतकर्ता अर्जुनकुमार श्रेष्ठलगायतले मुद्दा दायर गरेका थिए ।

 सहकारी रजिष्ट्रार कार्यालयले अनुसन्धान गर्दा उक्त सहकारीमा रु ११ करोड ११ लाख ९० हजार तीन सय २२ हिनामिना गरेको आरोप बचतकर्ताको छ । सहकारीका अन्य २३ जना सञ्चालक भने फरार सूचीमा छन् । 

यसअघि कुश्माको तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका दुईजना र ग्रामीण विकास कृषि सहकारी संस्थाका छजना पुर्पक्षका लागि थुनामा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ