arrow

टी–२० श्रृंखला 

नेपाली टिमका लागि घरेलु मैदान र दर्शक पराइ बन्दै, लगातार हार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
dipendra-airee-karan-kc.jpg

काठमाडौँ । काठमाडौँमा जारी टी –२० त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल बुधबार नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो । 

१८५ रनको चुनौती लिएर मैदानमा उत्रेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३६ बलमा ५० तथा आसिफ शेखले २३ बलमा ३४ रन बनाए । 

नेदरल्याण्ड्सका साइब्रान्ड इंगेलब्रेच्ट र रोएल्फ भान डर मेर्वेले २–२ विकेट लिए । 

कीर्तिपुरस्थित त्रिविको मैदानमा टस जितेर नेपालले खराब बलिङ गर्यो । नेदरल्याण्डले मात्र ४ विकेटको क्षतिमा १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि डेब्यु खेलाडी माइकल लेभिटले ३६ बलमा ५४ रन बनाए । 

साइब्रान्ड एंगल ब्रेच्टले ३८ बलमा अविजित रहँदै ४९ रन जोडे । त्यस्तै कप्तान स्कट एड्वार्डसले १६ बलमा ३३ तथा तेजा निदामानुरुले २४ बलमा ३१ रन जोडे । 

नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । दुई खेलाडी रनआउट भए । 

नेपाललाई यो खेल पीर भुलाउने कि घाउमा नून छर्कने भन्ने महत्वपूर्ण रहेकामा घाउमा नून छर्कन पुगेको छ । 

घरेलु मैदानमा नेपालले लगातार हार बेहोरेसँगै यही घरेलु मैदान र घरेलु दर्शक पराइ बन्न थालेका छन् । 

लगातार हारपछि मुख्य प्रशिक्षक मोन्टि देसाई र कप्तान रोहित पौडेलको रणनीति विफल हुँदै गएको देखिएको छ । 

नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग हार बेहोरेको थियो । त्यतिमात्र होइन नामिबियाले विश्वकप लिग–२ का दुवै खेलमा नेपाललाई पराजित गरेको थियो । 

यसैले पनि मनोबल बढाउन नेपालले आजको खेलमा नेदरल्याण्डलाई हराएर दोस्रोपटक नामिबियासँग भिड्दा जित्ने गरी नै मैदानमा उत्रनुको विकल्प छैन । नेपालले पहिलो पटक घरेलु मैदानमा कमजोर खेलिरहेको हो । 

नेपालले अब शुक्रबार नामिबियासँग खेल्नेछ । बिहीबार नामिबिया र नेदरल्याण्ड्स खेल्नेछन् । 

नेपाल–नामिबिया पहिलो खेलः
खेलमा नेपाल २० रनले पराजित भयो । २०७ रनको फराकिलो चुनौती पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । 
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ तथा सोमपाल कामीले ११ बलमा २६ रन बनाए । रुबेन ट्रम्पेलमानले सर्वाधिक ४ विकेट लिए । 

यसअघि खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २०६ रन बनायो । नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । उनले ३६ बलमा १०१ रन बनाए । 

चौथो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा मलान क्रुगरले ४८ बलमा अविजित रहँदै ५९ रन बनाए । 

रोहितले सर्वाधिक २ विकेट लिए । त्यस्तै करण केसी र अविनाश बोहराले १–१ विकेट लिए । 

नेपाल र नामिबियासँगै नेदरल्याण्ड्स पनि श्रृंखलामा रहेको छ । आईसीसी विश्वकप लिग–२ को एक दिवसीय श्रृंखलापछि टी–२० श्रृंखला शुरु भएको हो ।

लिग–२ मा नामिबियाले ३ खेल, नेदरल्याण्ड्सले २ खेल तथा नेपालले १ खेलमात्र जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ