arrow

शिर काटेर एकैदिन सात जनालाई मृत्युदण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
saudi-arabia-2024.jpg

रियाद । साउदी अरेबियाले हालै सात जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो । 

सन् २०२२ को घटनापछि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो, त्यसपछि एकै दिनमा यति धेरै मानिसलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मार्च २०२२ मा मात्रै साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो ।

साउदी अरेबियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै साउदीको आधिकारिक प्रेस एजेन्सीले जनाए अनुसार ती सात जनालाई आतंकवादी संगठन र संस्थाहरू सिर्जना गर्ने र आतंकलाई आर्थिक सहयोग गरेकोमा दोषी पाइए पछि उनीहरूलाई टाउको काटेर यो मृत्युदण्डको सजाँय दिइएको हो । तर, यसरी मंगलबार मृत्यदण्ड दिएकाहरुको राष्ट्रियता भने साउदीले अझै खुलाएको छैन । 

 साउदी समाचार एजेन्सीका अनुसार उनीहरूले आतंकवादी दृष्टिकोण अपनाए, जसले मानिसहरूलाई रक्तपात मच्चाउनका लागि उक्साउने काम गरेका थिए । यसबाहेक आतंकवादी संगठन र संस्थाहरूको स्थापना, आर्थिक सहयोग र सञ्चारले सामाजिक सुरक्षा र स्थिरतामा बाधा पुर्‍याउने कार्य गरे पछि उनीहरू मृत्युदण्डका लागि लायक भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूका अनुसार साउदी अरब संसारमा सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो । सन् २०२३ मा १७० जनालाई मृत्युदण्ड दिइएको थियो भने यो वर्ष मात्रै अहिलेसम्म २९ जनालाई फाँसी दिइसकिएको छ ।

दुई वर्षअघि साउदी अरबमा एकै दिन ८१ जनालाई फाँसी दिइँदा विश्वव्यापी रूपमा आक्रोश मच्चिएको थियो। एम्नेस्टी इन्टरनेशनलका अनुसार साउदी अरेबियाले २०२२ मा चीन र इरान बाहेक अन्य कुनै पनि देशको तुलनामा बढी मृत्युदण्ड दिएको थियो। 

गत वर्ष डिसेम्बरमा साउदी अरबले सबैभन्दा बढी मृत्युदण्ड दिएको थियो । त्यो महिना ३८ जनालाई मृत्युदण्ड दिइएको थियो । २०२३ मा मृत्युदण्डको सजाय सुनाइएकामा देशद्रोहको अभियोगमा दोषी ठहरिएका दुई सैनिक र आतंकवादी गतिविधिमा संलग्न ३३ जना थिए। 

सन् २०२२ मा साउदी अरबमा १४७ जनालाई फाँसी दिइएको थियो, जसको मानव अधिकारकर्मीहरूले निरन्तर आलोचना गर्दै आएका छन् । त्यस्तै, २०१९ मा साउदीमा १८७ जनालाई मृत्युदण्ड दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ