वीरगञ्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशका समस्या समाधान नभए सम्म संविधान कार्यान्वयन नहुने र निर्वाचन पनि हुन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस पर्साले वीरगञ्जमा गरेको कार्यकर्ता भेलाको उद्घाटन गर्दै नेता पौडेलले सानो तिनो विवादमा अल्झेर मुलुकले प्राप्त गरेको उपलब्धिलाई गुम्न दिन नहुने बताउए ।
पौडेलले कांग्रेस एमाले र माओवादी मिलेर जारी गरेको संविधान कार्यान्वयनका लागि एमालेले लचकता अपनाउनु पर्नेमा जोड दिए । मधेशी मोर्चाले पनि केही अडान छाडेर सहमतिमा आउनु पर्ने कुरामा जोड दिए ।
पौडेलले संविधान जसरी पनि कार्यान्वयनमा आउनु पर्ने कुरामा जोड दिँदै स्थानीय तहको पुनःसंरचना गरी चैतसम्म जसरी पनि स्थानीय निकायको निर्वाचन हुने व्यवस्था मिलाउनु पर्ने बताए ।
बरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनपछि मुलुक सम्वृद्धिको दिशामा अगाडि बढ्ने बताउदै कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण गर्न सके मात्रै मधेशको उन्नति हुने कुरामा जोड दिए ।
नेता पौडेलले लोकमान सिंह कार्कीले बदमासी गर्दैमा अख्तियार नै चाहिदैन भन्नु गलत भएको बताउदै लोकमानको नाममा अख्तियारलाई समाप्त पार्ने खेल कतैबाट हुनु हुदैन–भने ।
प्रजातान्त्रिक सेनानी हरिहर गुप्ताको सभापतित्वमा शुरु भएको कार्यकर्ता भेलामा केन्द्रीय सदस्य रामकृष्ण घिमिरे, रामकृष्ण यादव, रमेश रिजाल, अजय चौरसिया, महम्मद अफताब आलम, शोभाकर पराजुली, सांसद राजेन्द्र बहादुर अमात्य लगायतका वक्ताहरुले बोलेका थिए ।
यसैविच, नेपाली काग्रेसले तरार्ई मधेस केन्द्रित कार्यक्रम वीरगञ्जबाट सुरु गरेको छ । तराई मधेसमा आफ्ना गतिविधिहरू सञ्चालन गर्न नसकेको आरोप लागिरहेका बेला कँग्रेसले ‘तरार्ई अभियान’ नाम दिएर अभियान सुरु गरेको हो ।
तरार्ई मधेस केन्द्रित कार्यक्रम अन्तर्गत बारा, पर्सा रौतहट, मकवानपुर, चितवन, सर्लाही, महोत्तरी, धनुषामा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
कार्यक्रम अन्तर्गत शुक्रबार बारामा, रौतहटमा आगामी मसिर ४ गते, सर्लाहीमा ५ गते, महोत्तरीमा र धनुषामा ७ गते कार्यक्रम तय भएको छ । नेता पौडेल सबै कार्यक्रममा सहभागि हुने छन् ।