arrow

टी–२० श्रृंखला 

नेपाल नाामिबियाविरुद्ध आज ‘गर या मर’ को खेल खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
nepal-namibia-t20-02-27.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल बिहान ११ः३० बजेदेखि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुनेछ । 

नेपालले यसअघिका दुवै खेल हारेकाले फाइनल पुग्ने सम्भावना जीवितै राख्न आजको खेल ‘गर या मर’ को अवस्थामा रहेको छ । 

टी–२० को पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो । 

नेपालले एक अंक पनि नजोडेको अवस्थामा फाइनल खेल्नका लागि अबका दुवै खेलमा फराकिलो जित हासिल गर्नुपर्नेछ । 

नेदरल्याण्ड्स दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ भने नामिबिया एक खेल जितेर २ अंकसहित दोस्रो स्थानमा छ । अंकविहीन नेपाल पुछारमा छ । 

आजको खेलमा फराकिलो जित हासिल गर्दा नेपाल २ अंकसहित दोस्रो स्थानमा पुग्नेछ । अन्तिम खेलमा नेदरल्याण्ड्समाथि पनि फराकिलो जित हासिल गर्दा नेपाल फाइनलमा पुग्नेछ । 

नेपाल र नेदरल्याण्ड्सको पहिलो खेल–
नेपाल बुधबार नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो । १८५ रनको चुनौती लिएर मैदानमा उत्रेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३६ बलमा ५० तथा आसिफ शेखले २३ बलमा ३४ रन बनाए । 

नेदरल्याण्ड्सका साइब्रान्ड इंगेलब्रेच्ट र रोएल्फ भान डर मेर्वेले २–२ विकेट लिए । 

टस जितेर नेपालले खराब बलिङ गर्यो । नेदरल्याण्डले ४ विकेटको क्षतिमा १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि डेब्यु खेलाडी माइकल लेभिटले ३६ बलमा ५४ रन बनाए । 

साइब्रान्ड एंगल ब्रेच्टले ३८ बलमा अविजित रहँदै ४९ रन जोडे । त्यस्तै कप्तान स्कट एड्वार्डसले १६ बलमा ३३ तथा तेजा निदामानुरुले २४ बलमा ३१ रन जोडे । 

नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । दुई खेलाडी रनआउट भए । 

नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग हार बेहोरेको थियो । 

नेपाल र नामिबिया पहिलो खेल–
नेपाल २० रनले पराजित भयो । २०७ रनको फराकिलो चुनौती पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । 
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ तथा सोमपाल कामीले ११ बलमा २६ रन बनाए । रुबेन ट्रम्पेलमानले सर्वाधिक ४ विकेट लिए । 

यसअघि खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २०६ रन बनायो । नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । 

उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । उनले ३६ बलमा १०१ रन बनाए । 

चौथो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा मलान क्रुगरले ४८ बलमा अविजित रहँदै ५९ रन बनाए । 

रोहितले सर्वाधिक २ विकेट लिए । त्यस्तै करण केसी र अविनाश बोहराले १–१ विकेट लिए । 

आईसीसी विश्वकप लिग–२ को एक दिवसीय श्रृंखलापछि टी–२० श्रृंखला भएको हो ।

लिग–२ मा नामिबियाले ३ खेल, नेदरल्याण्ड्सले २ खेल तथा नेपालले १ खेलमात्र जितेको थियो । नेपालको घरेलु मैदानमा यो एकदमै खराब प्रदर्शन हो । 

घरेलु मैदानमा नेपालले लगातार हार बेहोरेसँगै यही घरेलु मैदान र घरेलु दर्शक बैरी बन्न थालेका छन् । 

लगातार हारपछि मुख्य प्रशिक्षक मोन्टि देसाई र कप्तान रोहित पौडेलको रणनीति विफल हुँदै गएको देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ