arrow

टी–२० श्रृंखला

नामिबियामाथि नेपालको सनसनीपूर्ण जित

तीन रनले विजयी नेपालको फाइनल आशा जीवितै, शनिबार नेदरल्याण्ड्सलाई हराउनै पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
sompal-dipendra-aarif.jpg

काठमाडौँ । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नेपालले नामिबियामाथि सनसनीपूर्ण जित निकालेको छ । नेपालले नामिबियालाई ३ रनले हराएको हो । 

१८१ रनको चुनौती लिएर मैदानमा उत्रिएको नामिबियाले ७ विकेटको क्षतिमा १७७ रनमात्र बनाउन सक्यो । 

नामिबियाका लागि कप्तान जेजे स्मितले २६ बलमा ५० तथा जान फ्राइलिंकले २९ बलमा ३७ रन बनाए । नेपालका लागि करण केसी, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा करण केसीले ८ रन दिएर १ विकेट लिएसँगै नेपालले रोमाञ्चक जित हासिल गरेको हो । अविनाश बोहराले १ विकेट लिए । 

यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २८० रन बनायो । 

६४ रन बनाउँदा ४ विकेट गुमाइसकेको नेपालका लागि पाँचौँ विकेटका लागि आरिफ शेख र कुशल मल्लबीच ८५ रनको साझेदारी भएको थियो । सो क्रममा आरिफले २४ बलमा ३१ रन जोडे । 

त्यस्तै गुल्सन झाले १६ बलमा २६, अनिल साहले १७ बलमा २३ तथा दिपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । कप्तान रोहित पौडेल १०, करण केसी ७, सोमपाल कामी २ तथा आसिफ शेख १ रनमा आउट भए । प्रतिस जीसी १ रनमा अविजित रहे । 

कुशल मल्लले कौशलपूर्वक खेल्ने क्रममा ३७ बलमा अविजित रहँदै ५५ रन बनाए । बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए । 

जितसँगै नेपालको फाइनल प्रवेशको आशा जीवितै रहेको छ । श्रृंखलामा दुवै खेल जितेर नेदरल्याण्ड्स ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ३ खेलबाट २ अंकसहित दोस्रो स्थानमा पुगेको छ । नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा झरेको छ । 

अब नेपालले लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्समाथि फराकिलो जित हासिल गर्दा फाइनलमा स्थान बनाउने छ । 

यो खेल शनिबार बिहान ११ः३० बजे कीर्तिपुर मैदानमै शुरु हुँदैछ । 

टी–२० को पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो । 

नेपाल र नेदरल्याण्ड्सको पहिलो खेल–
नेपाल बुधबार नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो । १८५ रनको चुनौती लिएर मैदानमा उत्रेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३६ बलमा ५० तथा आसिफ शेखले २३ बलमा ३४ रन बनाए । 

नेदरल्याण्ड्सका साइब्रान्ड इंगेलब्रेच्ट र रोएल्फ भान डर मेर्वेले २–२ विकेट लिए । 

टस जितेर नेपालले खराब बलिङ गर्यो । नेदरल्याण्डले ४ विकेटको क्षतिमा १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि डेब्यु खेलाडी माइकल लेभिटले ३६ बलमा ५४ रन बनाए । 

साइब्रान्ड एंगल ब्रेच्टले ३८ बलमा अविजित रहँदै ४९ रन जोडे । त्यस्तै कप्तान स्कट एड्वार्डसले १६ बलमा ३३ तथा तेजा निदामानुरुले २४ बलमा ३१ रन जोडे । 

नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । दुई खेलाडी रनआउट भए । 

नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग हार बेहोरेको थियो । 

नेपाल र नामिबिया पहिलो खेल–
नेपाल २० रनले पराजित भयो । २०७ रनको फराकिलो चुनौती पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । 
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ तथा सोमपाल कामीले ११ बलमा २६ रन बनाए । रुबेन ट्रम्पेलमानले सर्वाधिक ४ विकेट लिए । 

यसअघि खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २०६ रन बनायो । नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । 

उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । उनले ३६ बलमा १०१ रन बनाए । 

चौथो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा मलान क्रुगरले ४८ बलमा अविजित रहँदै ५९ रन बनाए । 

रोहितले सर्वाधिक २ विकेट लिए । त्यस्तै करण केसी र अविनाश बोहराले १–१ विकेट लिए । 

आईसीसी विश्वकप लिग–२ को एक दिवसीय श्रृंखलापछि टी–२० श्रृंखला भएको हो ।

लिग–२ मा नामिबियाले ३ खेल, नेदरल्याण्ड्सले २ खेल तथा नेपालले १ खेलमात्र जितेको थियो । नेपालको घरेलु मैदानमा यो एकदमै खराब प्रदर्शन हो । 

घरेलु मैदानमा नेपालले लगातार हार बेहोरेसँगै यही घरेलु मैदान र घरेलु दर्शक बैरी बन्न थालेका छन् । 

लगातार हारपछि मुख्य प्रशिक्षक मोन्टि देसाई र कप्तान रोहित पौडेलको रणनीति विफल हुँदै गएको देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ