नरेन्द्र मोदीले अक्षय कुमारलाई उम्मेदवार बनाउन सक्ने
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
1.1k
Shares
तस्बिर – फाइल ।
नयाँदिल्ली । भारतको लोकसभा चुनाव अघि एउटा ठूलो जानकारी बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (भाजपा) ले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउन सक्ने भएको छ ।
जसमध्ये भाजपाले पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन सक्छ, जहाँ अभिनेता अक्षय कुमारलाई चण्डीगढ वा दिल्लीको जुनसुकै सिटबाट टिकट दिन सक्ने जनाइएको छ ।
यसैगरी, भाजपाले पूर्व सांसद तथा चलचित्र अभिनेत्री जया प्रदालाई दक्षिण भारतको कुनै पनि सिटबाट चुनाव लड्न सक्ने जानकारी आएको छ ।
सेलिब्रेटी उम्मेदवारका बारेमा भाजपाले प्रारम्भिक छलफल गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय जनता पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठक बिहीबार बसेको थियो । सो बैठकपछि भाजपाले आगामी दिनमा लोकसभा चुनावका लागि उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न सक्ने अनुमान गरिएको थियो ।
यो सूचीमा ती उम्मेदवारहरूको नाम समावेश हुनेछ जसको स्थिति बलियो छ। जसमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहलगायतको नाम समावेश रहेको छ।
अब भाजपाले धेरै सेलिब्रेटीहरूलाई टिकट दिएर चुनावी लाभ उठाउने प्रयास गरिरहेको स्रोतबाट जानकारी आएको छ। तर, यी ती सिटहरू हुन्, जहाँ भाजपा बलियो स्थितिमा छ ।
सोही क्रममा बिहार, पञ्जाब र आन्ध्र प्रदेशमा भाजपाले आगामी दुई दिनमा गठबन्धनको गणित समाधान गर्ने र क्षेत्रीय दलहरूसँगको छलफलपछि जतिसक्दो चाँडो उम्मेदवारको नाम टुंगो लगाउने स्रोतबाट जानकारी प्राप्त भएको छ ।
पञ्जाबमा अकाली दल, आन्ध्र प्रदेशमा टीडीपी र बिहारमा जेडीयू, एलजेपी, जितनराम मांझीको हम र उपेन्द्र कुशवाहाको पार्टीसँग सम्झौता गर्ने तयारी गरिरहेको छ ।
३ मार्च साँझसम्म भाजपाले कहाँबाट कसलाई उम्मेदवार बनाउने भन्ने तस्वीर स्पष्ट हुने विश्वास गरिएको छ ।