- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालले टस हारेर पहिले बलिङ गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको छ । पहिलो ओभरमै नेपालले दुई विकेट झारेको छ ।
करण केसीले दुवै विकेट लिएका हुन् । फाइनलमा पुग्न नेपाललाई यो खेलमा फराकिलो जित आवश्यक छ । नेपालको रन रेट त्यति राम्रो नभएको अवस्थामा नेपालले फाइनल प्रवेशको सम्भावना कायम राख्न फराकिलो जित आवश्यक परेको हो ।
श्रृंखलामा यसअघिका दुवै खेल जितेर नेदरल्याण्ड्स ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ३ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ ।
नेदरल्याण्ड्सको रन रेट १.५२५ रहेको छ । नेपालको रन रेट माइनस ०.३१७ तथा नामिबियाको माइनस ०.७०० रहेको छ ।
यो अवस्थामा नेपालले फराकिलो जित हासिल गर्दा लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स र नामिबिया भिड्नु पूर्व नै नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
तर यदि नेपाल पराजित भएका खण्डमा वा झिनो जितले भने आइतबार हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
नेपालले नेदरल्याण्ड्ससँग झिनो हार बेहोरेको खण्डमा आइतबारको खेलमा नेदरल्याण्ड्सले नामिबियामाथि फराकिलो जित निकाल्दा पनि नेपाल फाइनलमा पुग्न सक्छ ।
तर नेपालले आजको खेलमा नेदरल्याण्ड्समाथि फराकिलो जित हासिल गर्दा नेपालको रन रेट मजबुद हुँदा स्वतः फाइनलमा पुग्नेछ ।
दोस्रो खेलमा नामिबियामाथि सनसनीपूर्ण जित
नेपालले दोस्रो भिडन्तमा नामिबियामाथि सनसनीपूर्ण जित निकालेको छ । नेपालले नामिबियालाई ३ रनले हराएको हो । १८१ रनको चुनौती लिएर मैदानमा उत्रिएको नामिबियाले ७ विकेटको क्षतिमा १७७ रनमात्र बनाउन सक्यो ।
नामिबियाका लागि कप्तान जेजे स्मितले २६ बलमा ५० तथा जान फ्राइलिंकले २९ बलमा ३७ रन बनाए । नेपालका लागि करण केसी, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा करण केसीले ८ रन दिएर १ विकेट लिएसँगै नेपालले रोमाञ्चक जित हासिल गरेको हो । अविनाश बोहराले १ विकेट लिए ।
यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २८० रन बनायो ।
६४ रन बनाउँदा ४ विकेट गुमाइसकेको नेपालका लागि पाँचौँ विकेटका लागि आरिफ शेख र कुशल मल्लबीच ८५ रनको साझेदारी भएको थियो । सो क्रममा आरिफले २४ बलमा ३१ रन जोडे ।
त्यस्तै गुल्सन झाले १६ बलमा २६, अनिल साहले १७ बलमा २३ तथा दिपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । कप्तान रोहित पौडेल १०, करण केसी ७, सोमपाल कामी २ तथा आसिफ शेख १ रनमा आउट भए । प्रतिस जीसी १ रनमा अविजित रहे ।
कुशल मल्लले कौशलपूर्वक खेल्ने क्रममा ३७ बलमा अविजित रहँदै ५५ रन बनाए । बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए ।
नेपाल र नेदरल्याण्ड्सको पहिलो खेल–
नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो । १८५ रनको चुनौती लिएर मैदानमा उत्रेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३६ बलमा ५० तथा आसिफ शेखले २३ बलमा ३४ रन बनाए ।
नेदरल्याण्ड्सका साइब्रान्ड इंगेलब्रेच्ट र रोएल्फ भान डर मेर्वेले २–२ विकेट लिए ।
टस जितेर नेपालले खराब बलिङ गर्यो । नेदरल्याण्डले ४ विकेटको क्षतिमा १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि डेब्यु खेलाडी माइकल लेभिटले ३६ बलमा ५४ रन बनाए ।
साइब्रान्ड एंगल ब्रेच्टले ३८ बलमा अविजित रहँदै ४९ रन जोडे । त्यस्तै कप्तान स्कट एड्वार्डसले १६ बलमा ३३ तथा तेजा निदामानुरुले २४ बलमा ३१ रन जोडे ।
नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । दुई खेलाडी रनआउट भए ।
नेपाल र नामिबियाबीचको पहिलो खेल–
नेपाल २० रनले पराजित भयो । २०७ रनको फराकिलो चुनौती पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ तथा सोमपाल कामीले ११ बलमा २६ रन बनाए । रुबेन ट्रम्पेलमानले सर्वाधिक ४ विकेट लिए ।
यसअघि खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २०६ रन बनायो । नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए ।
उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । उनले ३६ बलमा १०१ रन बनाए ।
चौथो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा मलान क्रुगरले ४८ बलमा अविजित रहँदै ५९ रन बनाए ।
रोहितले सर्वाधिक २ विकेट लिए । त्यस्तै करण केसी र अविनाश बोहराले १–१ विकेट लिए ।
आईसीसी विश्वकप लिग–२ को एक दिवसीय श्रृंखलापछि टी–२० श्रृंखला भएको हो ।
लिग–२ मा नामिबियाले ३ खेल, नेदरल्याण्ड्सले २ खेल तथा नेपालले १ खेलमात्र जितेको थियो । नेपालको घरेलु मैदानमा यो एकदमै खराब प्रदर्शन हो ।