arrow

टी–२० श्रृंखला

फाइनलमा नेपालसँग खेल्न नेदरल्याण्ड्स र नामिबियाबीच प्रतिस्पर्धा, नामिबिया ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
namibia-netherlands-t20.jpg

काठमाडौँ । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा अहिले नामिबिया र नेदरल्याण्ड्स भिडिरहेका छन् । 

त्रिविको कीर्तिपुर मैदानमा टस जितेर नेरल्याण्ड्सले बलिङ रोजेसँगै नामिबिया ब्याटिङमा उत्रिएको छ । तीन देशमा नेपाल फाइनलमा पुगिसकेको छ । यो खेलबाटै फाइनलमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ । 

यो खेलमा नेदरल्याण्ड्स विजयी हुँदा स्वतः फाइनलमा पुग्नेछ । यदि नामिबिया फराकिलो अन्तरले विजयी भएमा नेपाल र नामिबिया फाइनलमा पुग्न सक्छन् । तर नामिबियाले निकै नै फराकिलो अन्तरको जित हासिल गर्नुपर्ने हुन्छ । 

नेदरल्याण्ड्स ३ खेलबाट ४ अंकसहित शीर्ष, नेपाल ४ खेलबाट ४ अंकसहित दोस्रो तथा नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । 

नेदरल्याण्ड्सको रन रेट ०.३१० रहेको छ । नेपालको रन रेट ०.२९३ तथा नामिबियाको माइनस ०.७०० रहेको छ । 

यो रन रेट हेर्ने हो भने नामिबियाको झिनो अन्तरको जितले नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुग्न सक्छन् । 

लिग चरणको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई पराजित गरेको थियो । त्यस अर्थमा नेदरल्याण्ड्स केही बलियो छ । 

नेदरल्याण्ड्सविरुद्ध नेपालको दोस्रो खेलः 
लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्समाथि ६ विकेटको जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा १२१ रनको झिनो चुनौती नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाबीच तेस्रो विकेटका लागि सर्वाधिक ८६ रनको साझेदारी भएको थियो । सो क्रममा रोहितले ३४ बलमा ४६ तथा गुल्सनले ३६ बलमा ३८ रन बनाए । 

कुशल भुर्तेलले १२, आसिफ शेखले ८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै ४ तथा कुशल मल्लले अविजित रहँदै २ रन बनाए । 

खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा अलआउट हुँदै १२० रनमात्र बनाउन सक्यो । 

म्याक्स ओ’डडले २४ बलमा सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा प्रतिस जीसीले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए । 

त्यस्तै करण केसी र कुशल मल्लले २–२ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए । दुई खेलाडी रन आउट भए । 

नेपालले पहिलो ओभरमै दुई विकेट झारेको थियो । करण, प्रतिस र कुशलले एकै ओभरमा समान २–२ विकेट लिएका थिए । 
नेपाल लगातार दुई खेल जितेर फाइनलमा पुगेको हो । शुरुआती दुई खेलमा नामिबिया र नेदरल्याण्ड्ससँग पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा नामिबिया र नेदरल्याण्ड्सलाई पराजित गरेको हो । 

दोस्रो खेलमा नामिबियामाथि नेपालको सनसनीपूर्ण जित
नेपालले दोस्रो भिडन्तमा नामिबियामाथि सनसनीपूर्ण जित निकालेको छ । नेपालले नामिबियालाई ३ रनले हराएको हो । १८१ रनको चुनौती लिएर मैदानमा उत्रिएको नामिबियाले ७ विकेटको क्षतिमा १७७ रनमात्र बनाउन सक्यो । 

नामिबियाका लागि कप्तान जेजे स्मितले २६ बलमा ५० तथा जान फ्राइलिंकले २९ बलमा ३७ रन बनाए । नेपालका लागि करण केसी, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा करण केसीले ८ रन दिएर १ विकेट लिएसँगै नेपालले रोमाञ्चक जित हासिल गरेको हो । अविनाश बोहराले १ विकेट लिए । 

यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २८० रन बनायो । 

६४ रन बनाउँदा ४ विकेट गुमाइसकेको नेपालका लागि पाँचौँ विकेटका लागि आरिफ शेख र कुशल मल्लबीच ८५ रनको साझेदारी भएको थियो । सो क्रममा आरिफले २४ बलमा ३१ रन जोडे । 

त्यस्तै गुल्सन झाले १६ बलमा २६, अनिल साहले १७ बलमा २३ तथा दिपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । कप्तान रोहित पौडेल १०, करण केसी ७, सोमपाल कामी २ तथा आसिफ शेख १ रनमा आउट भए । प्रतिस जीसी १ रनमा अविजित रहे । 

कुशल मल्लले कौशलपूर्वक खेल्ने क्रममा ३७ बलमा अविजित रहँदै ५५ रन बनाए । बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए । 

नेपाल र नेदरल्याण्ड्सको पहिलो खेल–
नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो । १८५ रनको चुनौती लिएर मैदानमा उत्रेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३६ बलमा ५० तथा आसिफ शेखले २३ बलमा ३४ रन बनाए । 

नेदरल्याण्ड्सका साइब्रान्ड इंगेलब्रेच्ट र रोएल्फ भान डर मेर्वेले २–२ विकेट लिए । 

टस जितेर नेपालले खराब बलिङ गर्यो । नेदरल्याण्डले ४ विकेटको क्षतिमा १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि डेब्यु खेलाडी माइकल लेभिटले ३६ बलमा ५४ रन बनाए । 

साइब्रान्ड एंगल ब्रेच्टले ३८ बलमा अविजित रहँदै ४९ रन जोडे । त्यस्तै कप्तान स्कट एड्वार्डसले १६ बलमा ३३ तथा तेजा निदामानुरुले २४ बलमा ३१ रन जोडे । 

नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । दुई खेलाडी रनआउट भए । 

नेपाल र नामिबियाबीचको पहिलो खेल–
नेपाल २० रनले पराजित भयो । २०७ रनको फराकिलो चुनौती पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र बनाउन सक्यो । 
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ४८ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ४२, कुशल मल्लले २१ बलमा ३२ तथा सोमपाल कामीले ११ बलमा २६ रन बनाए । रुबेन ट्रम्पेलमानले सर्वाधिक ४ विकेट लिए । 

यसअघि खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २०६ रन बनायो । नामिबियाका लागि जान निकोल लोफ्टि इटनले कीर्तिमानी शतक बनाए । 

उनले मात्र ३३ बलमा शतक पूरा गरेर नेपाली खेलाडी कुशल मल्लको नाममा रहेको ३४ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् । उनले ३६ बलमा १०१ रन बनाए । 

चौथो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा मलान क्रुगरले ४८ बलमा अविजित रहँदै ५९ रन बनाए । 

रोहितले सर्वाधिक २ विकेट लिए । त्यस्तै करण केसी र अविनाश बोहराले १–१ विकेट लिए । 

आईसीसी विश्वकप लिग–२ को एक दिवसीय श्रृंखलापछि टी–२० श्रृंखला भएको हो ।

लिग–२ मा नामिबियाले ३ खेल, नेदरल्याण्ड्सले २ खेल तथा नेपालले १ खेलमात्र जितेको थियो । नेपालको घरेलु मैदानमा यो एकदमै खराब प्रदर्शन हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ