arrow

नेपालको ठूलो शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
sudan-kiranti-dharan-rss.jpg
फाइल तस्बिर

खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग भएको बताएका छन् । 

प्रेस सेन्टर नेपाल खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपालमा देखिएका यी सबै समस्या समाधानका लागि वर्तमान सरकार प्रयत्नरत रहेको बताए । 

मन्त्री किरातीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भ्रष्टाचार अन्त्य गर्नमा सरकार लागिपरेको जानकारी दिए ।

उनले देशमा सुशासन कायम नभएसम्म शत्रुको रुपमा देखा परेको गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न नसकिने स्पष्ट पारे । 

उनले भने, “देशमा अहिले साझा समस्याका रुपमा देखिएका गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न राष्ट्रिय सरकार आवश्यक छ । वर्तमान गठबन्धनलाई अझ बलियो बनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । अनिमात्र समृद्ध नेपाल निर्माण गर्न सक्छौँ ।”

मन्त्री किरातीले वर्तमान सत्ता साझेदार गठबन्धन दलभित्र देखिएका केही समस्याका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । गठबन्धन निर्माण गर्दा जनतालाई देखाइएको सपना पूरा गर्नका लागि पनि वर्तमान गठबन्धन सरकारलाई कायम राख्नुपर्ने उनले बताए । 

देशमा सुशासन कायम गर्न र आर्थिक समृद्धि निर्माणको बाटो प्रारम्भ गर्नका लागि स्थायी सरकार आवश्यक रहेको मन्त्री किरातीले दाबी गरे । 

नेपालको संविधानले अङ्गिकार गरेअनुसार सबै राजनीतिक दल मिलेर वर्तमान सरकारलाई स्थायित्व दिनुपर्ने उनको भनाइ थियो । 

मन्त्री किरातीले नेपालका हरेक घुम्ती तथा डाँडापाखा पर्यटनको सम्भावना बोकेको ठाउँ रहेको बताएका छन् । 

“नेपालका हरेक जातजातिको छुट्टाछुट्टै विशेषता, छुट्टाछुट्टै भेषभूषा तथा संस्कार, संस्कृति छन् । यसलाई प्रवर्द्धन गर्न वर्तमान सरकार लागि परेको छ । 

मन्त्रालयले तयार पारेको १६औँ पञ्चवर्षीय योजनामा रैथाने शब्द समावेश गरिएको छ”, उनले भने, “पर्यटन प्रवर्द्धनका लागि हामीले अन्य देशको सिको गर्न आवश्यक छैन । रैथाने रहनसहनलाई प्रवर्द्धन गर्न सके यसैमा हाम्रो भविष्य छ । यसप्रति वर्तमान सरकारले गम्भीर भएर मिहिनरुपमा अध्ययन/अनुसन्धानसहित नीति निर्माण गरिरहेको छ ।”

मन्त्री किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसी, किराँत समुदायको उद्गमस्थल तुवाचुङ-जयाजुम, बराहपोखरी, जन्तेढुङ्गा, मझुवागढीलगायतका धार्मिक तथा ऐतिहासिकस्थलको पर्यटन प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन गरिएको जानकारी दिए । 

मन्त्री किरातीले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि मन्त्रालयबाट विनियोजित बजेटलाई सही तरिकाले कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए । 

प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनपछि मन्त्री किरातीले दिक्तेलस्थित दिलकाजी-ठूलकुमार स्मृति भवनमा पार्टी कार्यकर्तासँग भेटघाटसमेत गरेका छन् ।

कार्यकर्ता भेटघाटमा मन्त्री किरातीसँगै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोग अध्यक्ष एवं पूर्वसांसद टङ्क राईसमेत सहभागी भएका थिए ।



लोकप्रिय समाचार
नयाँ