भेटघाट गर्ने बहानामा सीटीईभीटीका उपाध्यक्षलाई मोसो दल्ने डीबी र नवराज १५ दिनपछि पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
846
Shares
भक्तपुर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कार्यकक्षमै आएर मोसो दलेर फरार भएका दुईजनालाई प्रहरीले १५ दिनपछि आइतबार पक्राउ गरेको छ ।
प्रहरीले अछामको कमलबजार नगरपालिका-६ घर भई काठमाडौँ कलङ्की बस्ने ३० वर्षीय डिबी भन्ने डम्बरबहादुर शाही र दार्चुलाको मार्मा गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने ३० वर्षीय नवराज भट्टलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार अखिल क्रान्तिकारी आबद्ध उनीहरुले गत फागुन ६ गते भेटघाट गर्ने बहानामा सीटीईभीटीका उपाध्यक्ष अधिकारीको कार्यकक्षमा पसेर मोसो दलेका थिए । फरार रहेका उनीहरुलाई मध्यपुरथिमि‐३ गठ्ठाघरबाट पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।