arrow

नयाँ गठबन्धनको नेप्सेमा प्रभाव एक दिन पनि टिकेन, एकैदिन ७० अंकले ओरालो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नयाँ गठबन्धन सरकारका कारण सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार भने उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको हो ।

नयाँ गठबन्धनका कारण विशेष गरी एमाले सरकारमा गएपछि शेयरमा एकाएक सोमबार एकैदिन परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उच्च अङ्कको वृद्धिपछि मंगलबार लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो ।

नयाँ गठबन्धनको सरकारले एक दिन पनि खुशीलाई टिकाउन सकेन । मंगलबार तीन सय छ कम्पनीको एक करोड १४ लाख ६७ हजार पाँच सय ९९ कित्ता ६९ हजार दुई सय आठ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ११ करोड ३६ लाख ७६ हजार नौ सय ५८ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा दुई सय १३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स तीन दशमलव २४ र फ्लोट इन्डेक्स तीन दशमलव ३७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड शून्य दशमलव ६६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ३५ प्रतिशतले घटेको छ ।

त्यस्तै, जलविद्युत् समूह चार दशमलव ३० र उत्पादन तथा प्रशोधन चार दशमलव २० ले घटेको छ । बैंकिङ तीन दशमलव ०१, विकास बैंक तीन दशमलव ६५, वित्त दुई दशमलव ७५, होटल तथा पर्यटन तीन दशमलव ६९ र लगानी समूह तीन दशमलव ४८ प्रतिशतले घटेको छ । 

त्यसैगरी, जीवन बीमा समूह तीन दशमलव ४९, लघुवित्त एक दशमलव २७, निर्जीवन बीमा समूह दुई दशमलव ६० र व्यापार समूह दुई दशमलव १५ प्रतिशतले घटेको छ ।

गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्य आज सबैभन्दा धेरै आठ दशमलव ७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ र बोटलर्स नेपाल (तराई) को शेयर मूल्य नौ दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू ४१ करोड ९१ लाख २२ हजार सात सय ३५ बराबरको आठ लाख ५० हजार चार सय ६४ कित्ता शेयर किनबेच भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ