arrow

फर्किएन मालवाहक रेल, उद्योगीहरू निराश [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
train-malbahak-.jpg

काठमाडौँ । भारतको बथनाहादेखि विराटनगर-१८ बुधनगरसम्म मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि स्थानीय व्यापारीहरू निराश भएका छन् । 

गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म आठ किलोमिटर दूरीको रेल चलेपछि धेरैमा उत्साह छाएको थियो । भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगीहरू अहिले निराश छन् । त्यसबेला आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर जेठ १९ गते भारत फर्किएको मालवाहक रेल फेरि फर्किएर नआएपछि उद्योगीमा निराशा छाएको हो ।

 आयातको लागत न्यूनीकरण हुने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल-भारत कार्गो रेल अहिले अलपत्र बनेको छ । नेपालले भारतसँग गरेको रुट सम्झौता बमोजिम सीमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको विराटनगरका उद्योगीहरूले बताएका छन् । 

सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गो रेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको छ । रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए । सन्धिमा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिंकर र सिमेन्ट मात्र आयात गर्न पाउने विषय उल्लेख छ । 

नजिकको बन्दरगाहबाट सीमित माल वस्तु मात्र आयात गर्न दिने सरकारको त्रुटिपूर्ण सम्झौताकै कारण ‘मालवाहक रेल पुनः सञ्चालनमा आउन नसकेको उद्योगीहरू बताउँछन् । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गो रेल पुनः सञ्चालनका लागि कोलकत्ताबाट सबै प्रकारका माल वस्तु आयातको अनुमति दिनुपर्ने बताए ।

कार्गो रेल सञ्चालनमा नआउनुको अर्को मुख्य कारण लोडिङ-अनलोडिङको लागत हो । विराटनगर भन्सारमा कार्गो व्यवस्थापनको जिम्मा पाएको ट्रान्स नेपालको लोडिङ-अनलोडिङ चार्ज भारतको तुलनामा निकै महँगो रहेको उद्योगीको गुनासो छ । अहिले उद्योगीहरूले भारतबाट आयातित सामान भारतीय भन्सारमै अनलोड गरेर स्थलमार्र्गबाट आयात गर्दै आएका छन् । त्यसरी गरिएको आयात २०० रुपैयाँ प्रति मेट्रिक टनले सस्तो परिरहेको उनीहरूको तर्क छ । 

यता बथनाहा-विराटनगर कार्गो रेल पुनः सञ्चालनको विषयमा भने आवश्यक पहल भइरहेको विराटनगर भन्सार कार्यालय जनाएको छ । कोलकत्ता बन्दरगाहबाट सबै प्रकारका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरोकारवाला मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरिरहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी परशुराम दाहालले बताए ।

भारतले पछिल्लो समय बिशाखापटनम बन्दरगाहलाई विशेष महत्त्व दिएर कार्गो रेल सञ्चालन गरिरहेको छ । नेपालले पनि विशाखापटनम बन्दरगाह नै प्रयोग गरोस् भन्ने भारतको चाहना छ । तर विशाखापटनमबाट गरिने आयात कोलकत्ताको तुलनामा लागतको दृष्टिकोणले निकै खर्चिलो पर्ने भएकाले उद्योगीहरू त्यसका लागि तयार नदेखिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ