arrow

मिटरब्याजी पीडितको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
baburam-meaterbyaji.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरूको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले यस्तो आग्रह गरेका हुन् । 

उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरू च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाहा घोषणा गर्न आग्रह गरे । उनले लिखित तमसुकहरू खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गरे । उनले नेपालका बैङ्कहरूमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिब किसानलाई किन बाँड्न आँट गर्न आग्रह गरे । उनले मिटरब्याज पीडितहरूको विषयमा बनेका थुप्रै आयोगहरूको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे ।

उनले भने, ‘मिटरब्याज पीडितको विषयमा थुप्रै आयोगहरू बनेका छन् । पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो । तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई केले रोकेको छ ? मेरा मित्र रविजी हिजो मात्रै उपप्रधान एवं गृहमन्त्री बन्नुभएको छ, रवि जी तपाईँले आज नै त्यसलाई जारी गरिदिनुस्, बल्ल तपाईँहरू परीक्षाबाट उत्तीर्ण हुनुहुनेछ । नत्र जुन जोगी आए पनि कानै चिरेका भनेजस्तो हुने खतरा छ । कमरेड प्रचण्डलाई आग्रह गर्दछु । हिजो हामीले जनयुद्धताका जुन जाली तमसुक झुटो तमसुक बनाइएको थियो, त्यो खोसेर च्यातेको, आगो लगाइएको हो की होइन ? अहिले आगो लगाउनुस् र च्यात्नुस् भन्दिन तर अहिले निश्चित सम्मको ऋण मिनाहा तुरुन्तै घोषणा गर्न सक्नुहुन्छ । लिखित तमसुकहरू खिच्नुस् र राख्नुस् । र घोषणा गरिदिनुस् । हामीसँग पैसा नभएको होइन । ६० खर्ब हाम्रो बैङ्कहरूमा छ । त्यो भनेको वर्षभरको कुल सम्पत्ति हो, त्यो ५० खर्ब छ । ६० खर्बबाट एक खर्ब रुपैयाँ यी गरिब किसानलाई किन बाँड्न र आँट गर्न सक्नुहुन्न । त्यति गर्नुहोस् ।’

पूर्व प्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागहरूमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ