arrow

सरकारमा केही मान्छे विवादित छन् - पम्फा भुसाल [भिडियो]

बहुमत पुर्‍याउन गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर सरकारमा सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २५ शुक्रबार
pamfa-bhushal.jpg

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् । शुक्रबार महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् । 

उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताइन् । उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनी राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा तरङ्गित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरूले बनाएका बताइन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने सङ्कल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने बताइन् ।

उनले भनिन् – ‘त्यहाँ भित्र हामीलाई असहज भयो । यसरी काम गर्नुभन्दा बरु छोड्नु पो ठिक हुन्छ कि ? काम गर्न नसक्ने अनि पदमा मात्रै बस्ने जस्तो कुरा भनेर प्रधानमन्त्री विकल्प खोज्दै हुनुहुन्थ्यो । संयोगले एउटा नयाँ सहमति बन्यो र नयाँ गठबन्धन बन्यो । बाहिर सुशासन भनेको छ । आफ्नै मन्त्रीहरू झन्डा बोकेर अख्तियार जान्छन् । हरेक ठाउँमा विभिन्न सुशासन विरोधी गतिविधि भएको कुरा मिडियामा पनि आउँछ । तथ्य बुझ्दा हुन्छ पनि । छुन, चलाउन नसक्ने । काम गरेर अगाडी बढ्न त समग्र मन्त्रालय प्रधानमन्त्रीको मातहतमा हुन्छ । महत्त्वपूर्ण मन्त्रालयले यसरी जाऊँ, उसोगरी जाऊँ भन्दा मान्दै मान्दैन । खुट्टा अगाडी लैजान नसकेजस्तो । जनतालाई अलि बढी राहत हुने गरी काम गरौँ । त्यही ढङ्गले बजेट निर्माण गरौँ । आर्थिक स्रोत जुटाऊँ र कार्यक्रमहरु थप्दै जाऊँ आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔँ भन्दा खेरी अर्थ सम्हालेको मन्त्रीले मान्दैन । मन्त्री फेरौँ भन्दा नेताले मान्दैन । त्यसैले नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर पनि हाम्रो सङ्ख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पुर्‍याउनुपर्छ । यो बाध्यता त हुन्छ । तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ । यसले एउटा राजनीतिमा राष्ट्रिय रूपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरू बसेर गरिएको । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बन्यो कि भन्ने केही अन्तर्राष्ट्रिय तरङ्ग पनि यसले ल्याएको छ । तर होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुनर्गठन हो । हामी के स्पष्ट हुनुपर्छ भने काम गर्ने, कामको गति अगाडी बढाउने र केही निष्कर्ष देखिने, जनताले जीवन व्यवहारमा सुशासनको अनुभूत गर्ने, जनताको जीवनमा आर्थिक परिवर्तनका अनुभूतिहरू आउनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारमा केही नयाँपन आउने गरेर गर्ने सङ्कल्पसित यो नयाँ गठबन्धन बनाइएको हो । त्यो नहुँदासम्म यहीँ बस्ने, यहीँ टिक्ने भन्ने पनि हुन्न ।’

उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि बताए । उनले गठबन्धनमा वामपन्थीहरूको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ