arrow

सर्वज्ञमान-विष्णुदेवी संस्कृति पुरस्कार पोयुसापलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
upendra-poudel-samman-pokhara.jpg

पोखरा । यस वर्षको सर्वज्ञमान-विष्णुदेवी संस्कृति पुरस्कार पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई अर्पण गरिएको छ ।

भैरव सांस्कृतिक संरक्षण समितिले प्रदान गर्दै आएको उक्त पुरस्कार शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले (पोयुसाप) का अध्यक्ष उपेन्द्र पौडेललाई अर्पण गरे । पुरस्कारको राशि नगद एक लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।

यसअघि यो पुरस्कार फत्तेमान, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेम ध्वज प्रधान, जगमान गुरुङ लगायतले प्राप्त गरेका थिए ।

सो अवसरमा प्रमुख आचार्यले पोखरालाई सांस्कृतिक रूपमा एकताबद्ध गर्न पोखरेली युवा सांस्कृतिक परिवारको भूमिका उल्लेखनीय रहेको बताए । पोयुसाप पोखराको ब्रान्डका रूपमा विकसित हुँदै गएको उनले दावी गरे ।

भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले झन्डै पाँच दशकदेखि पोखरालाई साहित्य, संस्कृति र कलाका माध्यमबाट प्रवर्द्धनका खातिर प्रशंसनीय कार्य गरेकाले पोखरेली युवा सांस्कृतिक परिवारलाई पुरस्कार अर्पण गरिएको बताए ।

कार्यक्रममा सर्वज्ञमान प्रधानाङ्गका छोरा तथा भैरव नृत्यका गुरु कृष्णमान प्रधानाङ्ग, पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति कृष्णबहादुर श्रेष्ठले पुरस्कारको गरिमाबारे चर्चा गरे ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार सर्वज्ञमान प्रधानाङ्ग शास्त्रीय संगीत साधक तथा संस्कृतिकर्मी हुन् । पोखरामा देखाइने भैरवनृत्य सञ्चालनमा वाद्यवादक, राग गायक एवं गुरुका रूपमा उनको भूमिका उल्लेख्य छ ।

संस्कृति र संगीतको क्षेत्रमा सक्रिय संस्कृतिकर्मी, साधक, सेवी र संस्थाहरूको सम्मान गर्ने उद्देश्यले आफू र धर्मपत्नीको नाममा उनले आफू जीवित रहँदा नै सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०५५ सालमा नै स्थापना गरी सञ्चालनको अभिभारा भैरव सांस्कृतिक संरक्षण समितिलाई दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ