- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सुनको मूल्यले दिनप्रतिदिन रेकर्ड कायम गर्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख २६ हजार कायम भएको छ । जुन हालसम्मकै बढी हो । शुक्रबार यो मूल्य १ लाख २५ हजार रुपैयाँ बराबर थियो ।
यसरी दिनप्रतिदिन मूल्य बढ्दै जाँदा सुन पसलहरुमा सुन किन्नेको संख्या पातलिँदै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य अहिले बजारमा दिनको करिब १० किलो सुन मात्रै बिक्री हुँदै आएको बताउँछन् । यो वर्ष सिजनमासमेत सुनको बिक्री २० किलोभन्दा माथि नपुगेको उनको भनाइ छ ।
अघिल्ला वर्षहरुमा सुनको माग दैनिक ३० देखि ३५ किलोग्रासम्म हुने गरेको थियो । विदेशी मुद्रा सञ्चितिको संकटका कारण सरकारले यसमा परिमाणात्मक बन्देज लगाउँदै आएको थियो ।
यो वर्ष पनि त्यो बन्देज कायमै छ । तर २० किलोको तोकिएको परिमाणभन्दा पनि कम बिक्री हुने अवस्था रहेको महासंघको भनाइ छ ।
किन बढ्दैछ सुनको मूल्य ?
नेपालमा सुनको मूल्यको निर्धारण अन्तर्राष्ट्रिय मूल्यका आधारमा हुने भएकोले सुनको मूल्य बढ्नुको अन्तराष्ट्रिय कारण नै मुख्य हुन जान्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा मुख्यतयाः दुई कारण रहेको महासंघका अध्यक्ष शाक्य बताउँछन् ।
उनका अनुसार पछिल्लो समय डलरप्रति ब्रिक्स राष्ट्रहरुको अविश्वासका कारण सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ । विश्वकै ठूला अर्थतन्त्र भएका चीन, भारत, रुस, ब्रजिल, दक्षिण अफ्रिकालगायत देशहरुले आफ्नो ढुकुटीमा डलरको सट्टा सुनको सञ्चिति बढाउँदै लगेका छन् । सोही कारण विश्व बजारमा सुनको माग बढिरहेको छ । यसले मूल्यलाई बढाइरहेको छ ।
‘अहिले विभिन्न राष्ट्रहरुले डिमोनिटाइजेसनको अभ्यास गरिरहेका छन् । अहिले विश्वभर प्रचलित अमेरिकी डलरको विकल्पमा उनीहरुले सुनको रिजर्भ बढाइरहेका छन्,’ शाक्य भन्छन्, ‘यो नरोकिएसम्म सुनको मूल्य घट्ने सम्भावना छैन ।’
त्यसो त पछिल्लो समय विश्वका विभिन्न देशका रिजर्भ बैंकहरुले आफ्नो बण्डहरुको ब्याजदर घटाइरहेका छन् ।
त्यसरी ब्याजदर घटाउँदा लगानीकर्ताहरुले सुनलाई लगानीको वैकल्पिक माध्यम बनाइरहेका छन् । यद्यपि यसको असर भने तुलनात्मक रुपमा कम पर्ने शाक्य बताउँछन् ।
मुख्य कारण डलरप्रतिको अविश्वास र यसको विकल्प खोज्ने अन्य राष्ट्रहरुको प्रयास नै मुख्य कारण मानिएको छ ।
यही वर्ष २ लाख पुग्नसक्छ मूल्य
सुनको मूल्यमा हुँदै आएको वृद्धि तथा अन्र्तष्ट्रिय बजारको मागमा हुँदै आएको वृद्धि समेत घट्ने अवस्था नभएका कारण बजारमा सुनको मूल्य आगामी दिनमा थप बढ्दै जाने महासंघको प्रक्षेपण छ ।
अहिले सुनको मूल्य प्रतिऔंस २१७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यो मूल्य सन् २०२४ भित्रै ३००० पुग्नसक्ने महासंघको अनुमान छ ।
महासंघका अध्यक्ष शाक्य यो अवस्था आउँदा सुनको मूल्य यो वर्षको अन्त्यसम्ममा २ लाख रुपैयाँसम्म पुग्न सक्ने बताउँछन् । शाक्य भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ३ हजार डलर पुग्दा नेपालमा एक तोलाको २ लाखसम्म पुग्नसक्छ । यही वर्षको अन्त्यसम्ममा मूल्य त्यो तहमा पुग्छ कि भन्ने हाम्रो अनुमान छ ।’
नेपालमा हाल आम सर्वसाधारणले काँचो सुनमा लगानी गर्न पाउँदैनन् । गहना बनाएर मात्रै होल्ड गर्न पाउने भएकोले नेपालमा लगानीका लागि सुनको माग नहुने उनको भनाइ छ । डिजाइनमा हुने परिवर्तनका कारण गहनामा समेत ठूलो लगानी गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।
नेपालमा आम सर्वसाधरणले सुनमा लगानी गर्ने वातावरण भएको अवस्थामा मात्रै सुनको माग बढ्नसक्ने शाक्य बताउँछन् । त्यस्तो हुन नसक्दा आम्दानीको आधारमा मात्रै सुनको माग बढ्दै जाने उनको भनाइ छ ।