arrow

नेपाल र हङकङको खेल वर्षाले रद्द 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
nepal-hk-24-03-10.jpg

काठमाडौँ । नेपाल सम्मिलित टी–२० त्रिकोणात्मक क्रिकेट शृंखला आइतबारदेखि हङकङमा शुरु भएको छ । पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेलेकाका वर्षाले पूरा हुन नसकी रद्द भएको छ । 

हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरे पनि पटक पटक वर्षाका कारण खेल अवरुद्ध हुँदा रद्द भएको छ । खेल वर्षाले रोकिनुपूर्व हङकङले ८ ओभर खेल्दा २ विकेट गुमाएर ६५ रन बनाएको थियो । 

करण केसीले पहिलो बलमै विकेट लिएर हङकङलाई दबाबमा राखे पनि उसले आक्रामक ब्याटिङ गरेको थियो । दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्ने क्रममा कप्तान निजाकत खान २० बलमा २५ रन बनाएर आउट भए ।  दोस्रो विकेट गुल्सन झाले लिएका हुन् । आंशि राथ ३६ रनमा अविजित रहे ।

यसअघि ५ ओभरमा १ विकेटको क्षतिमा ४३ रन जोडेपछि खेल वर्षाले रोकिएको थियो । त्यसपछि पुनः खेल भए पनि वर्षा नरोकिँदा खेल पूरा हुन सकेन । 

तेस्रो टिम पपुवा न्यूगिनी (पीएनजी) हो । नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

यसअघि शनिबार भएको हङकङ विरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको थियो । नेपाललाई हङकङले ७३ रनले हराएको थियो । 

नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो । 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ