arrow

पहिलो दल बन्ने आकांक्षा

पार्टी एकताका लागि केपी र माधव कुम जोडाउँदै

माधव नेपालको नाम लिएपछि मुख कुल्ला गर्नुपर्ने केपी ओलीको अभिव्यक्तिपछि सम्बन्धमा भएको थियो दरार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
oli-madhav-new-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमाले र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) बीच एकताको पहलकदमी थालिएको छ । 

नेकपा एससँग रहेको १० सिट एमालेमा भए मुलुकको सबैभन्दा ठूलो पार्टी हुने भएकाले त्यसका लागि एमालेका नेताहरुले प्रारम्भिक छलफल शुरु गरेका छन् ।

त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक बनेका छन् । ओली मात्र होइन नेकपा एसका नेताहरु पनि सकारात्मक बनेका छन् । 

एस पार्टीमा रहेका तल्लो तहका नेता कार्यकर्ताहरु एमालेमा फर्कन थालेपछि माथिल्लोतहका नेताहरुले पार्टीलाई मिलाउने कोसिस गरिरहेको स्रोतको दाबी छ । ‘एकाध चरणमा यो विषयमा कुराकानी भएको छ’, नेकपा एसका एक नेताले भने, ‘त्यसका लागि एमाले अध्यक्ष केपी ओलीले पहल गरे यसको समाधान निस्कन्छ ।’

ओली पनि माधवकुमार नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमै रहेका छन् । ओली र नेपालबीच गत शनिबार मात्रै करिब अढाई वर्षपछि ‘सम्बन्ध सुधार’को एकल भटघाट भएको छ ।  

नयाँ समीकरणमा सहभागी भएपछि शनिबार दुई नेताबीच भेटवार्ता भएको हो । तर यो भेटघाटलाई गोप्य राखिएको छ । 

शनिबार नै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य भेटघाट गरेका थिए । प्रचण्डलाई भेटेपछि ओली सिधै माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । 

तत्कालीन नेकपा विभाजन नहुँदै ओलीविरुद्ध प्रचण्ड र नेपाल ओलीविरुद्ध उत्रिएका थिए । ओलीलाई संसदीय दलमा अल्पमतमा पार्ने प्रयास भएपछि उनले दुई पटक संसद् विघटन गरेका थिए । 

दुई पटक नै सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेपछि ओली र नेपालले फरक बाटो लिएका थिए । त्यसयता उनीहरु बीचको सम्बन्ध निकै तिक्ततापूर्ण रहेको छ । 

माधव नेपालको नाम लिएपछि केपी ओलीले मुख कुल्ला गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनीहरुबीच सम्बन्ध बिग्रदै गएको थियो ।

२०७८ भदौमा पार्टी विभाजन भएपछि दुई नेताबीच बोलचाल बन्द थियो । पार्टी विभाजनकै कारण गत निर्वाचनमा ठूलो क्षति भएको निष्कर्ष एमालेले निकालेपछि दुई पार्टी तथा नेताबीच सम्बन्ध झनै चिसिएको थियो । 

यही फागुन २१ मा एमाले र माओवादीसहित दलहरूको नयाँ समीकरण बनेपछि गठबन्धनमा नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि मिसिएको हो । 

एकीकृत समाजवादीलाई गठबन्धनमा सहभागी गराउन ओली र प्रचण्ड नेपाल निवास कोटेश्वर गएका थिए ।  त्यसयता ओलीले नेपाललाई फकाउने कोसिस गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ