- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । हङकङमा जारी टी–२० क्रिकेट श्रृंखला अन्तर्गत नेपालले अहिले पपुवा न्यूगिनी (पीएनजी) सँग खेलिरहेको छ । हङकङको मोङककमा भइरहेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालका ओपनरद्वय कुशल भुर्तेल र विनोद भण्डारीले आक्रामक खेल्दै ६४ रनको साझेदारी गरे पनि त्यसपछि मात्र छ रन जोड्न तीन विकेट गुमायो । पहिलो विकेटका लागि ६४ रनको साझेदारी हुने क्रममा विनोद २२ बलमा २७ रन बनाएर आउट भए । नेपालले थप १ रन जोडेपछि कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए । नेपालले ७० रन जोड्दा आरिफ शेख ४ रन बनाएर आउट भए ।
नेपालले १० ओभर खेल्दा ३ विकेटको क्षतिमा ७३ रन बनाएको छ ।
नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।
यसअघि आइतबार नेपाल र हङकङबीचको श्रृंखलाको पहिलो खेल वर्षाले रद्द हुँदा दुवै देशले एक एक अंक बाँडेका थिए ।
अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।
बुधबार त्रिकोणात्मक टी–२० श्रृंखलाको फाइनल खेल हुने छन् । फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।
नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो ।
नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ ।