arrow

टी–२० विश्वकपको तयारी

नेपाल टिम ह्याट्रिकसहित पीएनजीमाथि जित नजिक, कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
nepal-png-24-03-12.jpg

काठमाडौँ । हङकङमा जारी टी–२० क्रिकेट श्रृंखला अन्तर्गत नेपालले अहिले पपुवा न्यूगिनी (पीएनजी) सँग खेलिरहेको छ । हङकङको मोङककमा भइरहेको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै पीएनजीलाई १९९ रनको चुनौती दिएको छ ।  

नेपालले ६ विकेटको क्षतिमा १९८ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । कुशलले ३९ बलमा ५९ रन बनाए ।

त्यस्तै सन्दीपले २६ बलमा ५६ रन बनाए । कुशलसँग पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्ने क्रममा विनोद भण्डारीले २२ बलमा २७ रन बनाए । त्यस्तै कुशल र सन्दीपबीच चौथो विकेटका लागि ५० रनको साझेदारी भएको थियो । 

विवेक यादवले ४ बलमा अविजित रहँदै १९, लोकेश बमले ६ बलमा १४, गुल्सन झाले १२ बलमा अविजित रहँदै १५ रन बनाए । आरिफ शेख ४ तथा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए । 

जवाफमा उत्रिएको पीएनजी पराजय नजिक पुगेको छ । नेपालले टिम ह्याट्रिक गरेसँगै पीएनजी पराजय नजिक पुगेको हो । ११ औँ ओभरको अन्तिम बल र १२ औँ ओभरका शुरुआती २ बलमा विकेट लिँदै नेपालले टिम ह्याट्रिक गरेसँगै पीएनजी पराजय नजिक पुगेको हो । 

११ औँमा आकाश चन्दले विकेट लिएका थिए भने १२ औँमा कुशलले विकेट लिएका थिए । कुशलले ४ विकेट लिएका छन् । उनको यो टी–२० को उत्कृष्ट बलिङ हो ।

पीएनजीले १४ ओभरमा ८ विकेट गुमाएर १०२ रन बनाएको छ । 

नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी–२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।  

यसअघि आइतबार नेपाल र हङकङबीचको श्रृंखलाको पहिलो खेल वर्षाले रद्द हुँदा दुवै देशले एक एक अंक बाँडेका थिए । 

अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।   
     
बुधबार त्रिकोणात्मक टी–२० श्रृंखलाको फाइनल खेल हुने छन् । फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो । 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ