arrow

टी–२० विश्वकपको तयारी

पीएनजीमाथि ८५ रनको जितसहित नेपाल फाइनलमा, कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
kushal-bhurtel-alrounder.jpg

काठमाडौँ । नेपाल हङकङमा जारी टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगेको छ । मंगलबार बिहान भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । पहिलो खेल हङकङसँग वर्षाले रद्द भइ अंक बाँडेसँगै नेपाल ३ अंकसहित फाइनलमा पुगेको हो । 

नेपालको उपाधि भिडन्त हङकङ र पीएनजीबीचको मंगलबारै हुने खेलको विजेतासँग बुधबार हुनेछ । 

हङकङको मोङककमा मंगलबार बिहान भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १९८ रन बनायो । 

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । कुशलले ३९ बलमा ५९ रन बनाए । त्यस्तै सन्दीपले २६ बलमा ५६ रन बनाए । 

कुशलसँग पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्ने क्रममा विनोद भण्डारीले २२ बलमा २७ रन बनाए । त्यस्तै कुशल र सन्दीपबीच चौथो विकेटका लागि ५० रनको साझेदारी भएको थियो । 

विवेक यादवले ४ बलमा अविजित रहँदै १९, लोकेश बमले ६ बलमा १४, गुल्सन झाले १२ बलमा अविजित रहँदै १५ रन बनाए । आरिफ शेख ४ तथा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए । 

जवाफमा उत्रिएको पीएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रनमात्र बनाउन सक्यो । हिरि हिरीले सर्वाधिक २८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अलराउन्डर कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । 

उनको टी–२० को अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । उनले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिएका हुन् । 

प्रतिस जीसीले २ तथा आकाश चन्द र गुल्सन झाले १–१ विकेट लिए । 

त्यस्तै नेपालले टिम ह्याट्रिकसमेत गरेको थियो । ११ औँ ओभरको अन्तिम बल र १२ औँ ओभरका शुरुआती २ बलमा विकेट लिँदै नेपालले टिम ह्याट्रिक गरेको थियो ।  

११ औँमा आकाश चन्दले विकेट लिएका थिए भने १२ औँमा कुशलले विकेट लिएका थिए । 

नेपाल र पीएनजीबीच अहिलेसम्म पाँच टी–२० खेल भएका छन् । जसमा नेपालले ४ र पीएनजीले १ खेलमा जित हासिल गरेको छ ।  

यसअघि आइतबार नेपाल र हङकङबीचको श्रृंखलाको पहिलो खेल वर्षाले रद्द हुँदा दुवै देशले एक एक अंक बाँडेका थिए । 

    
बुधबार त्रिकोणात्मक टी–२० श्रृंखलाको फाइनल खेल हुने छ । फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो । 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ