arrow

टी–२० विश्वकपको तयारी

नेपालको उपाधि भिडन्त पीएनजीसँग

लिग चरणमा पीएनजीमाथि ८५ रनको जितसहित नेपाल फाइनलमा, कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
nepal-png-24-03-12.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हङकङमा जारी टी–२० क्रिकेट श्रृंखलाको उपाधिका लागि बुधबार नेपाल र पपुवा न्यूगिनी (पीएनजी) भिड्ने भएका छन् । नेपालले पीएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

पीएनजीले भने हङकङमाथि १० विकेटको जित हासिल गरेर फाइनल यात्रातय गरेको हो । हङकङलाई १८.३ ओभरमा १२१ रनमै अलआउट गरेको पीएनजीले १२.४ ओभरमै कुनै विकेट नगुमाइ जित हासिल गरेको थियो । सेसे बाऊले ४३ बलमा ६१ तथा टोनी उराले ३३ बलमा ५१ रन बनाए । 

मंगलबार बिहान नेपालसँग पराजित पीएनजीले दिउँसो भने हङकङमाथि शानदार जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो । 

हङकङले बुधबार तेस्रो स्थानका लागि आफ्नै देशको हङकङ ‘ए’ सँग खेल्नेछ । पहिलो खेल हङकङसँग वर्षाले रद्द भइ अंक बाँडेसँगै नेपाल ३ अंकसहित फाइनलमा पुगेको हो । 

हङकङको मोङककमा मंगलबार बिहान भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १९८ रन बनायो । 

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । कुशलले ३९ बलमा ५९ रन बनाए । त्यस्तै सन्दीपले २६ बलमा ५६ रन बनाए । 

कुशलसँग पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्ने क्रममा विनोद भण्डारीले २२ बलमा २७ रन बनाए । त्यस्तै कुशल र सन्दीपबीच चौथो विकेटका लागि ५० रनको साझेदारी भएको थियो । 

विवेक यादवले ४ बलमा अविजित रहँदै १९, लोकेश बमले ६ बलमा १४, गुल्सन झाले १२ बलमा अविजित रहँदै १५ रन बनाए । आरिफ शेख ४ तथा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए । 

जवाफमा उत्रिएको पीएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रनमात्र बनाउन सक्यो । हिरि हिरीले सर्वाधिक २८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अलराउन्डर कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । 

उनको टी–२० को अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । उनले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिएका हुन् । 

प्रतिस जीसीले २ तथा आकाश चन्द र गुल्सन झाले १–१ विकेट लिए । 

त्यस्तै नेपालले टिम ह्याट्रिकसमेत गरेको थियो । ११ औँ ओभरको अन्तिम बल र १२ औँ ओभरका शुरुआती २ बलमा विकेट लिँदै नेपालले टिम ह्याट्रिक गरेको थियो ।  

११ औँमा आकाश चन्दले विकेट लिएका थिए भने १२ औँमा कुशलले विकेट लिएका थिए । 

नेपाल र पीएनजीबीच अहिलेसम्म पाँच टी–२० खेल भएका छन् । जसमा नेपालले ४ र पीएनजीले १ खेलमा जित हासिल गरेको छ ।  

नेपालले ३, पीएनजीले २ तथा हङकङले १ अंक बटुलेको हो । 

नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो । 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ