arrow

रोमाञ्चक समूह चरणबीच कोशी प्रदेश ट्रफी क्रिकेटको सेमिफाइनल समीकरण पूरा 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० चैत १ बिहिबार
koshi-cricket-12-01.jpg

मोरङ ।  मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

लिग चरणका खेलहरु बिहीबार सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । पहिलो खेलमा मधेस प्रदेशले एपीएफ र बागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गर्यो । 

बिहीबारको खेल अगावै समूह ए बाट त्रिभुनव आर्मी क्लब ८अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीसँगै समूह ए बाट कर्णाली समूह उपविजेता भएको छ । 

त्यस्तै समूह बी बाट लुम्बिनी प्रदेश ४ मध्ये ३ खेल जित्दै ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिम प्रदेशले पनि ४ मा ३ खेल जित्दै ६ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समूह विजेताा बनेको  हो ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा मधेस प्रदेशले एपीएफलाई २१ ले पराजित गरेको छ । यो खेलमा मधेसले एपीएफलाई ८३ रनले पराजित गरेको भए मधेस सेमिफाइनलमा पुग्ने थियो भने एपीएफले ८.३ ओभरभित्र मधेसमाथि जित हात पारेको भए सेमिफाइनलको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रनको योगफल तयार पारेको थियो । मधेशका लागि प्लेयर अफ द म्याच विशाल शुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरी अविजित रहँदै ५४ रन बनाउँदा पवन सर्राफले २५ रन र अभिषेक तिवारीले १९ रनको योगदान दिए । एपीएफका कप्तान भुवन कार्कीले ३ विकेट लिँदा पुरन विकले पनि ३ विकेट लिए ।

जवाफमा १ सय  ४४ रनको लक्ष्य पछ्याएको एपीएफले पूरै ओभर खैल्दै ८ विकेटको क्षतिमा १ सय २२ रनमा सीमित भयो । एपीएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रनमा बनाउँदा कप्तान भुवन कार्कीले अविजित १२ रन र आयुमान बमले पनि १२ रन बनाए । मधेसका राजेश यादवले ३ विकेट लिँदा अरनिको यादवले २ विकेट लिए ।

दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसलाई बागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२.५ ओभरमा बागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो ।

टस हारेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७३ रनको स्कोर बनाएको थियो । बागमतीका लागि प्लेयर अफ द म्याच इशान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरी अविजित ७४ रन बनाउँदा रविन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए । पुलिसका अभिषेक कार्कीले २ विकेट लिँदा दीपक सेरलाले पनि २ विकेट लिए ।

जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सबै विकेट १ सय ४० रनमा सीमित भयो  । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरी ४३ रनको पारी खेले भने शंकर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । बागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इशान पाण्डेले २–२ विकेट लिए ।

शुक्रबारको पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।



नयाँ