arrow

कोशी प्रदेश ट्रफी क्रिकेटको उपाधि भिडन्त आर्मी र कर्णालीबीच शनिबार मध्यान्ह

logo
विवेक मिश्र, 
प्रकाशित २०८० चैत २ शुक्रबार
koshi-cricket-2080.jpeg

मोरङ । त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै  विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ । 

आर्मीले यस सिजनमा पीएम कप र केपी ओली कप गरी  २ पटक फाइनल खेलिसकेको छ । आर्मी पीएम कपमा पुलिससँग र  केपी ओली कपमा मधेस प्रदेशसँग फाइनलमा पराजित भएको हो ।

टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ६३ रनको योगफल तयार पारेको थियो । सुदूरका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५९ रन बनाए । उनले १७ बलमा अर्धशतक बनाएका थिए । त्यस्तै किरण ठगुन्नाले ४३ रन बनाए । आर्मीका वसिर अहमदले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिँदा नितेश पटेल ३ विकेट लिए ।

जवाफमा १ सय  ६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्ध शतकले १९.१ ओभरमा ५ विकेटको क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा २ छक्का र ५ चौका प्रहार गरी अविजित ५० रनमा बनाउँदा तृतराजथ दासले ३८  रन र सन्तोष कार्कीले ३१ रन बनाए । सुदूरका दिपक वोहोराले २ विकेट लिँदा हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिए ।

दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको स्कोर बनाएको थियो । 

लुम्बिनीकालागि आकाश त्रिपाटीले ३९ बलमा १ छक्का र १० चौका प्रहार गरी ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिए । कर्णालीका प्लेयर अफ म्याच दिपेन्द्र रावतले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिँदा प्रकाश जैसीले ३ विकेट तथा दिवान पुनले २ विकेट लिए ।
 
जवाफमा १ सय ५२ रनको लक्ष्य पाएको कर्णालीले १८.५ ओभरमा ५ विकेटको क्षतिमा सो विजयी लक्ष्य भेट्टाएको थियो । कर्णालीका अर्जुन घर्तीले २७ बलमा १ छक्का र ५ चौका प्रहार गरी अविजित ४३ रनको इनिङ्स खेले भने दिनेश अधिकारीले  २० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिए । 

एक समय ११ दशमलव.५ ओभरमा ७८ रन बनाउँदा ५ विकेट गुमाइसकेको कर्णालीका लागि घर्ती र अधिकारीले छैटौँ विकेटका लागि ४२ बलमा अविजित ७४ रनको शानदारसाझेदारी गरे ।  त्यस्तै रविन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए । 

फाइनल खेल शनिबार मध्यान्ह १२ बजे हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ