arrow

तेस्रो प्रयासमा आर्मी च्याम्पियन, कोशी प्रदेश राष्ट्रिय टी–२० जित्न सफल 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० चैत ३ शनिबार
kpt-army-2080.jpg

मोरङ । विराटनगरमा सम्पन्न कोशी प्रदेश राष्ट्रिय टी२० च्याम्पियनशिप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । उपाधि हात पारेसँगै आर्मीले नगद पाँच लाखसहित ट्रफी हात पारेको छ । 

त्यसैगरी उपविजेता कर्णाली प्रदेशले ३ लाख नगदमा चित्त बुझाएको छ । शनिबार भएको उपाधि भिडन्तमा आर्मी क्लबले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । 

जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि चुमेको हो । यसअघि स्एिम कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेशसँग पराजित भएको थियो । 

कोशी प्रदेश ट्रफीको पहिलो सस्करणको उपाधि हात पार्ने क्रममा टस हारेर आर्मीले फिल्डिङको निम्तो पाएको थियो । यस क्रममा कर्णाली प्रदेशले २० ओभरमा अल आउट हुँदै १ सय १० रनको योगफल तयार पारेको थियो । 

आक्रामक शुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ र क्याप्टेन रविन्द्र शाहीले २१ रन बनाए । पहिलो विकेटमा कर्णालीले ३३ रनको साझेदारी गरेको थियो । 

त्यसैगरी दिनेश अधिकारीले १२ रन बनाए । कर्णालीलाई धरासायी बनाउने क्रममा आर्मीका त्रितराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान २ विकेट लिए ।

आर्मीले निर्धारित लक्ष्य १२ दशमलव २ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गरेको थियो। लक्ष्य पछ्याउने क्रममा आर्मीको ओपनर सन्तोष कार्की र ईमरान शेखले २५ रनको साझेदारी गरेका थिए । 

सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका त्रितराज दासले आक्रामक शैलीमा जित सुनिश्चित गरे । आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ रन र त्रितराजले ३३ बलमा ५० रन बनाए । च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले २ छक्का र ५ चौका प्रहार गरेका थिए । शेख र दासबीच ५४ बलमा ८७ रनको साझेदार गर्दै खेल आफ्नो पक्षमा पारे । 

च्याम्पियनशिपमा प्लेयर अफ दि टुर्नामेन्ट र प्लेयर अफ द फाइनलको पुरस्कार आर्मीका दासले हासिल गरे । 

विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका थिए । फागुन २२ गतेबाट शुरू भएक‍ो प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागीता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ