arrow

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
pm-prachanda-pokhara.jpg

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए । 

घोषणासभामा बोल्दै प्रधानमन्त्रीले पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयले मुलुकलाई सकारात्मक दिशामा लैजाने दावी गरे । 
पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाए । 

साथै पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरकोरुपमा विकास गर्न आगामी दिनमा उच्च प्राथमिकतामा राख्ने उनले स्पष्ट पारे । 

प्रधानमन्त्रीले पोखराको विकास निर्माणमा विद्यमान सम्भावित समस्या समाधानका लागि यथोचित पहल र समन्वय गर्ने स्पष्ट पारे । 
पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरुबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले सहजीकरण र पहल गर्ने उनले बताए ।

‘आगामी महिनामा आयोजना हुने लगानी सम्मेलनका लागिसमेत पर्यटकीय राजधानी घोषणाले महत्वपूर्ण टेवा पुर्याउँछ’, प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । 

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्न सम्वद्ध पक्षसँग सरकारले पहल र समन्वय गर्ने प्रतिवद्धता जनाए । नियमित अन्तर्राष्ट्रिय उडान र खर्चका सम्बन्धमा नयाँ ढंगले व्यवस्थापन गर्ने संकल्प आफूले लिएको प्रधानमन्त्रीले स्पष्ट पारे । उनले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयत्न गर्ने बताएका थिए । 

गण्डकी प्रदेशको विकासमा दूरगामी महत्व राख्ने मध्यपहाडी लोकमार्ग र पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक आयोजना समयमै सम्पन्न गर्न आवश्यक समन्वय र अनुगमन थप प्रभावकारी बनाइने उनले स्पष्ट पारे । 

उनले फेवातालको संरक्षणमा सर्वोच्च अदालतको फैसला र जनताको भावनालाई ध्यानमा राखेर निष्कर्षमा पुर्याउन पहल हुने बताए । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको पोखराको आर्थिक र सांस्कृतिक विकासका लागि कोरला त्रिवेणी नाकालाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । 

पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन सबै नेपाली जनताले भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणाले प्रदेशवासीको सपना साकार भएको बताए ।
पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पोखरा साँच्चै संसारकै अलौकिक सहर भएको बताए ।

पर्यटनको राजधानी धेरै पहिला घोषणा हुनुपर्नेमा ढिलै भएपनि सार्थकता पाएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ