- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । चट्याङ लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवलदारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याएका थिए ।
“प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्याएका थियौँ । चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए”, प्रनि कुशवाहाले भने ।
उनका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो ।
मोरङको ग्रामथान गाउँपालिका-४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । रासस