arrow

गाजा युद्ध अन्त्य गर्न भिन्नाभिन्नै छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । अमेरिकी शीर्ष कूटनीतिज्ञसँगको वार्ताअघि पाँच अरब मुलुकका सरकारी मन्त्रीहरूले गाजा युद्धमाथि छलफल गर्न बिहीबार कायरोमा एक प्यालेस्टिनी अधिकारीसँग भेट गरेको इजिप्टको विदेश मन्त्रालयले बताएको छ । 

“मन्त्रीहरूले इजरेली युद्ध रोक्न, गाजामा युद्धविरामसम्म पुग्न र पूर्ण सहायता वितरण सुनिश्चित गर्नका लागि आवश्यक प्रयासहरूबारे छलफल गरे”, इजिप्टको विदेश मन्त्रालयका प्रवक्ता अहमत अबुजैदले सामाजिक सञ्जाल एक्समा लेखे । 

बैठकमा इजिप्ट, साउदी अरब, कतार र जोर्डनका विदेशमन्त्रीका साथै इमिरेट्सको अन्तर्राष्ट्रिय सहयोगमन्त्री र प्यालेस्टिनी प्राधिकरणका नागरिक मामिलामन्त्री सहभागी हुनुभएको मन्त्रालयले बताएको छ । पछि बिहीबार अरब अधिकारीहरूले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग छलफल गर्न लागेका थिए । ब्लिङ्केन अक्टोबर ७ मा इजरेल–हमास युद्ध सुरु भएपछि यस क्षेत्रको आफ्नो छैटौँ भ्रमणअन्तर्गत इजिप्टको भ्रमणमा छन् । 

ब्लिङ्केनले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी र विदेशमन्त्री समेह शौकरीसँग भिन्नाभिन्नै छलफल गरे । अमेरिकी विदेश मन्त्रालयका अनुसार बैठकमा ‘गाजामा प्यालेस्टिनी नागरिक र मानवीय कार्यकर्ताहरूको सुरक्षाका लागि जारी प्रयास’ तथा ‘बन्धकहरूको रिहाईसहितको तत्काल युद्धविराम सुनिश्चित गर्ने’ बारे छलफल भएको थियो । 

इजिप्ट, गाजालाई सहायता पुर्याउने मुख्य प्रवेश विन्दु हो र छ साताको युद्धविरामलाई सुरक्षित गर्नका लागि कतारमा जारी वार्तामा प्रमुख मध्यस्थकर्ता पनि हो । वार्ताले इजरेलले बन्दी बनाएका प्यालेस्टिनी कैदीहरूसँग हमासले नियन्त्रणमा लिएका बन्धकहरू साट्न अनुमति दिनेछ र गाजालाई सहायता वितरण बढाउने छ । 

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले गाजाका २४ लाख मानिस भोकमरीको सङ्घारमा रहेको बताएका छन् । राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्क टर्कले इजरेलले भोकमरीलाई युद्धको तरिकाका रूपमा प्रयोग गरिरहेको बताएका छन् । 

बुधबार साउदी अरबको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले गाजामा तत्काल युद्धविरामका लागि अमेरिकी मस्यौदा प्रस्ताव अनावरण गरे ।

 इजरेलको प्रमुख समर्थक अमेरिकाले यसअघि प्यालेस्टिनी क्षेत्रमा ‘तत्काल युद्धविराम’ गर्ने राष्ट्रसङ्घको आह्वानलाई रोक्नका लागि राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भिटो प्रयोग गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ