arrow

राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता बेगनास तालमा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
dragon-boat-begnas.jpg

पोखरा । पर्यटन राजधानी पोखराको बेगनास तालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस प्रतियोगिता शुरु भएको छ । 

पोखरा महानगरपालिका-३१ स्थित तालमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सहआयोजनामा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस आयोजना गरिएको हो ।

देशका विभिन्न स्थानबाट १४ वटा समूहको सहभागिता रहेको प्रतियोगिता सोमबारसम्म चल्नेछ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गर्दै खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै अघि बढ्नुपर्ने बताए । खेलकुदमा राजनीति हुन नहुने उल्लेख गर्दै उनले त्यसलाई रोक्ने प्रतिबद्धता जनाए । खेलकुद पछिल्लो समय कूटनीतिक सम्बन्ध विस्तारको माध्यमसमेत बनेको उनको भनाइ छ ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालमा गरिएको यस प्रतियोगिताले यहाँको पर्यटकीय विकासका लागि विशिष्ट योगदान पुर्‍याउने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले बेगनास ताललाई पर्यटकीय रुपमा उपयोग, पर्यटकीय गतिविधि विस्तारका साथै स्थानको विविधीकरणका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास लिइएको बताए ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले पोखरा महानगरपलिका तथा गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता सञ्चालन गरिएको बताए । 

प्रतियोगिताअन्तर्गत पाँच सय र दुई सय मिटर गरी दुई समूहका खेल आयोजना गरिएको छ । प्रतियोगिताको दुई सय मिटरमा प्रथम हुँदै नारा पोखराले एक लाख, दोस्रो बन्दै वाटर स्पोटर्स एसोसिएसनले ५० हजार र तेस्रो बन्दै हर्पन मत्स्य समूहले २५ हजार नगद जितेका छन् । 

पाँच सय मिटरतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो बन्नेले ७५ हजार नगद पाउने आयोजकले जनाएको छ । पाँच सय मिटरका खेल भोलि हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ