arrow

 रामायणका रामलाई भाजपाको टिकट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
ramayan-ram-arun-govil.jpg

काठमाडौँ । भारतीय जनता पार्टी भाजपाले आसन्न लोकसभा चुनावका लागि उम्मेदवारको पाँचौँ सूची जारी गरेको छ । १११ जना प्रत्यासीको पाँचौँ सूचीमा रामायण (धार्मिक धारावाहिक श्रृंखला) का राम (अरुण गोविल) पनि परेका छन् । 

गोविललाई उत्तर प्रदेशको मेरठबाट टिकट दिइएको हो । हिन्दूधर्मग्रन्थ रामायणले भाजपाको राजनीतिमा विशेष अर्थ राख्छ । ‘धर्मो रक्षति रक्षित’ (धर्मको रक्षा गरे धर्मले रक्षा गर्छ )भन्ने सिद्धान्तलाई अंगीकार गर्दै हिन्दू धर्मको रक्षामा लागिपरेको नरेन्द्र मोदी नेतृत्वको सरकारले अयोध्यामा राम मन्दिरमा बालक रामको प्राण प्रतिष्ठा गरेको थियो । 

सोमबार अयोध्यामा बालक रामको दर्शन गरी होली खेल्न दर्शनार्थीहरुको भीड रहेको छ । सोही क्रममा आइतबार बेलुकी भाजपाले प्रत्यासीको सूचीमा रामायणका रामलाई पनि राखेर ठोस सन्देश दिएको छ । 

त्यस्तै बलिउड अभिनेत्री  कंगना रनोटलाई हिमाचल प्रदेशको मन्डीबाट, संबित पात्रालाई पुरीबाट, सीता सोरेनलाई झारखण्डको दुमकाबाट, अतुल गर्गलाई उत्तर प्रदेशको गाजियाबादबाट र नवीन जिन्दललाई हरियाणाको कुरुक्षेत्रबाट प्रत्यासी बनाइएको छ । 

भाजपाले अहिलेसम्म ४०२ प्रत्यासीको नाम घोषणा गरिसकेको छ । 

अप्रिल १९ देखि जुन १ सम्म हुन लागेको भारतको आमनिर्वाचनमा करिब सन्तानब्बे करोड भारतीय नागरिक मतदान गर्न योग्य देखिएका छन् । 

यो सङ्ख्या विश्वव्यापी जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो यसको नतिजा घोषणा ४४ दिनपछि जुन ४ मा मात्र सार्वजनिक हुनेछ । 

विशाल आकार र विश्वको सबैभन्दा धेरै जनसंख्या भएकाले गर्दा भारतको निर्वाचन चरणवद्धरूपमा लामो समयको अन्तरालमा सम्पन्न हुन्छ । 

बेलायती शासनबाट स्वतन्त्र भएपछि सन् १९५१-५२ मा भएको भारतको पहिलो निर्वाचनमा मतदान गर्न करिब चार महिना लागेको थियो । सन् १९८० मा भने जम्मा चार दिनमा निर्वाचन गरिएको थियो । 

सन् २०१९ को निर्वाचनमा मतदान गर्न उनन्चालीस दिन लागेको थियो । यो वर्ष हुने भारतको आमनिर्वाचन हालसम्मको दोस्रो लामो निर्वाचन हो । 

मतदाता सङ्ख्या ९६ करोड ९० लाख दर्ता भएसँगै भारतको मतदाताको आकार युरोपेली सङ्घको जनसङ्ख्याभन्दा ठूलो भएको छ ।

संसदको तल्लो सदनका लागि ५४३ सांसद चयनका लागि सात चरणमा मतदान हुने भएको छ । भारतको २८ राज्य र आठ सङ्घीय क्षेत्रले फरक(फरक समयमा मतदान गर्नेछन् । 

अप्रिल १९ मा शुरु भएर जुन १ मा अन्त्य हुने निर्वाचनको प्रत्येक चरण एक दिनको हुनेछ । 

“निर्वाचन अधिकारीहरूले लामो यात्रा गरेर भएपनि हरेक मतदाताको मताधिकार सुनिश्चित गर्नुपर्छ,” ‘पिआरएस लेजिस्लेटिभ रिसर्च’ का चक्षु रोयले भने । 

निर्वाचनमा खटिएका लगभग एक करोड ५० लाख मतदान अधिकारी र सुरक्षाकर्मीले देशको कुना(कुनामा पुगेर हरेक नागरिकको मताधिकार सुनिश्चित गर्ने व्यवस्था मिलाइएको भारत सरकारले जनाएको छ । 

सन् २०१९ मा भएको चुनावमा एक मतदाताको लागि मतदान अधिकारीको टोली चार दिनसम्म ४८० किलोमिटर यात्रा गरेर भारतको दुर्गम अरुणाचल प्रदेश पुगेका थिए । 

उक्त निर्वाचनमा मतदान अधिकारीहरूले हिमालयको अग्लो स्थानमा रहेको एक गाउँमा पन्ध्र हजार २५६ फिट अग्लो बुथ स्थापना गरेका थिए, जुन विश्वको सबैभन्दा अग्लो मतदान केन्द्र हो । 

यसपटकको निर्वाचनमा पनि दक्षिणी केरला राज्यको वन्यजन्तु आरक्ष भित्र र अर्को पश्चिमी गुजरात राज्यको ढुवानी कन्टेनरजस्ता दुर्गम स्थानहरूमा मतदान केन्द्रहरू स्थापना गरिने छ ।

विज्ञहरूका अनुसार सुरक्षाको दृष्टिकोणले पनि भारतमा धेरै(चरणमा निर्वाचन हुन लागेको हो । कडा सुरक्षाका कारण वर्षौदेखि मतदान शान्तिपूर्ण र सम्मानजनक रूपमा हुँदै आएको छ । 

सिमानाको रक्षामा खटिएका दशौँ हजार सङ्घीय सुरक्षा बलहरू राज्य प्रहरीसँगै हिंसा रोक्न र मतदान मेसिनहरूको ढुवानीमा खट्ने भएका छन् । 

“देशको भूगोल ठूलो छ । सुरक्षा बलहरूले देशको खोला, पहाड, जङ्गल, लम्बाई तथा चौडाई घुम्नुपर्ने हुन्छ । मतदातालाई मतदान गर्न सहज बनाउँन हामी सक्दो कोसिस गर्नेछौँ,” प्रमुख निर्वाचन आयुक्तले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ