arrow

आयरल्याण्डसँग नेपालको गज्जबको अभ्यास, दुवै खेलमा शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
sompal-kushal-2080.jpg

काठमाडौँ । नेपालले आयरल्याण्डविरुद्ध टी–२० क्रिकेटमा गज्जबको अभ्यास गरेको छ । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टिम (आयरल्याण्ड वोल्भ्स) सँग नेपालले सशक्त अभ्यास गर्न पाएको हो । 

सोमबार र मंगलबार भएको दुई वटा टी–२० खेलमा नेपालले शानदार प्रदर्शन गर्यो । कीर्तिपुर मैदानमा मंगलबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपाल ७१ रनले विजयी भयो । 

१९९ रनको चुनौती लिएर मैदानमा उत्रिएको आयरल्याण्डले १८.३ ओभरमा अलआउट हुँदै १२७ रनमात्र बनायो ।

स्टेफेन डोहेनीले सर्वाधिक २६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामी र कुशल मल्लले समान ३–३ विकेट लिए । 

सोमपालले १९ औँ ओभरमा ह्याट्रिक गर्न नसके पनि टिमले भने ह्याट्रिक विकेट लियो । पहिलो र दोस्रो बलमा विकेट लिएका सोमपालले ह्याट्रिक विकेट लिने बेलामा आयरल्याण्डका खेलाडी रनआउट भएपछि टिमले ह्याट्रिक विकेट लिएको हो । 

करण केसी, विवेक यादव र कुशल भुर्तेलले १–१ विकेट लिए । 

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १९८ रन बनायो ।नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए । 

उनले ३२ बलको सामना गर्दै ४ छक्का र १ चौका हानेका थिए । त्यस्तै कुशल मल्लले आक्रामक खेल्दै ४ छक्का र १ चौकाकै मद्धतले १३ बलमा ३४ रन बनाए । 

कप्तान रोहित पौडेलले २४ बलमा ३३, कुशल भुर्तेलले १६ बलमा २५ तथा सन्दीप जोराले १० बलमा २१ रन बनाए । 

आसिफ शेखले ११, अनिल साहले १२ तथा विशाल यादवले अविजित रहँदै ७ रन बनाए । आयरल्याण्डका म्याथ्यु फोस्टरले ३ तथा बेन ह्वाइटले २ विकेट लिए । 

यसअघि सोमबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै पूरा गरेको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले अविजित ३७, सन्दीप जोराले ३६, दिपेन्द्र सिंह ऐरीले अविजित २० तथा आसिफ सेखले १६ रन बनाए ।

यसअघि खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै आयरल्याण्डलाई १२१ रनमै रोकेको थियो । आयरल्याण्डले सबै विकेट गुमाएर २० ओभरमा १२१ रन बनाएको हो । स्टेफेन डोहेन्रीले ३९ बलमा ४६ रन जोडे । 

नेपालका लागिकुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले समान २–२ विकेट लिए । करण केसी र कुशल मल्लले १–१ विकेट लिए । 

यो खेलले नेपालले पहिलो पटक टेष्ट खेल्ने टिमसँग टी–२० मा अभ्यास गर्न पाएको छ । आयरल्याण्डको राष्ट्रिय टिम नभए पनि राष्ट्रिय टिममा खेलेका अनुभवी खेलाडीहरु पनि समावेश रहेका थिए । 

अब नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डशिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय श्रृंखला हुने छ ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डशिप कप खेल लागेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ