arrow

आधा आकाश ओगट्ने महिलालाई नसमेटी चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन- प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
puspa-kamal-dahal-prachanda-pokhara.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार ७औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले महिलाहरु आर्थिक हिसाबले सशक्त नभई साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने जिकिर गरे । उनले आजको संसारमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको बताए । उनले महिलालाई आर्थिक रूपले सबल र सम्पन्न बनाउन नसकेसम्म साँचो अर्थमा महिला सशक्तीकरण हुन नसक्ने बताए । 

प्रधानमन्त्री दाहालले महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासङ्घको मागलाई आफूले सकारात्मक रूपमा लिएको बताए । उनले महिला उद्यमीहरूलाई विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकिएको कुरा सुन्न आएको भन्दै त्यसलाई फेरि जोडिने भन्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘आर्थिक हिसाबले सशक्त नभई साँचो अर्थमा सशक्तीकरण हुन पनि सक्दैन । आजको संसारमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिलो आर्थिक पहुँचलाई सशक्त बनाउने कुरा नै हो । यही वास्तविकतालाई आत्मसाथ गरेर महिला उद्यमी महासङ्घले महिलालाई उद्यममार्पmत आत्मनिर्भर बनाउने प्रयास विगत केही वर्षदेखि गर्दै आएको छ । सात वटै प्रदेशका ६१ वटा जिल्ला ओगटेको यो महासङ्घमा ५२ सय भन्दा बढी महिला उद्यमी हुनु आफैँमा खुशी र गर्वको कुरा पनि हो । महासङ्घको यो विशाल सञ्जाललाई सदुपयोग गर्दै उद्यममार्फत महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा सरकार हातेमालो गर्न तयार छ । आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन । मैले राजनीतिक नेतृत्वमार्फत महिला सशक्तीकरणका लागि सबै क्षेत्रमा महिलाको आत्मसम्मान, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्नको निम्ति निकै ठुलो सङ्घर्षको नेतृत्व गर्ने अवसर मैले प्राप्त गरेको छु । र राजनीतिक रूपमा स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारसम्म पनि महिलाहरूको राम्रो उपस्थिति हुन गएको छ । तर जबसम्म आर्थिक रूपले सबल, आर्थिक रूपले सम्पन्न बनाउन सकिँदैन, साँचो अर्थमा महिला सशक्तीकरण पनि हुन सक्दैन । राजनीति एक्लैले महिलालाई सम्पूर्ण रूपले आर्थिक सबलीकरण गर्न पनि सक्दैन । महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासङ्घको मागलाई मैले सकारात्मक रूपमा लिएको छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ