arrow

रास्वपामा सहकारी ठगी

श्रममन्त्री अर्यालको सहकारीका निक्षेपकर्ता पनि ठगिए, समस्याग्रस्त भएपछि हारगुहार

निक्षेप डुबाउने कृषि सहकारीमा रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
dolprasad-aryal-new.jpg

काठमाडौँ । श्रममन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल समस्याप्रस्त सहकारीको पदाधिकारी रहेको भेटिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १२ गते समस्याग्रस्त घोषणा गरेको हाम्रो नयाँ कृषि सहकारी संस्थाको सञ्चालक समितिमा श्रममन्त्री अर्याल उपाध्यक्ष रहेको पाइएको हो । 

उक्त सहकारीले ३६ जना लगानीकर्ताको ४ करोड ९२ लाख रुपैयाँ नतिरेपछि समस्याग्रस्त घोषणा गरी व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयलाई जिम्मेवारी दिएको छ ।  

यस्तो छ श्रममन्त्री अर्यालको कनेक्सन
काठमाडौँको बालुवाटारमा रहेको उक्त सहकारीले २०७७ साल साउन २७ गते साधारण सभा गरी नयाँ सञ्चालक समिति गठन गरेको थियो । सो समयमा गठन भएको समितिको कार्यकाल चार वर्षको थियो । जसअनुसार उक्त कार्यसमितिको कार्यकाल २०८१/८२ मा हुने साधारण सभासम्म कायम रहनु पथ्र्यो ।  

उक्त कार्यसमितिमा सूर्यबहादुर गुरुङ अध्यक्ष थिए । उक्त समितिको उपाध्यक्षमा हालका श्रममन्त्री अर्याल, सचिवमा उत्तम अधिकारी, कोषाध्यक्षमा जनक गौतम र सञ्चालक सदस्यहरुमा कृष्णकुमार न्यौपाने, कबिन्द्र बुर्लाकोटी र शर्मिला तामाङ रहेका थिए । त्यसमध्ये सञ्चालक सदस्य बुर्लाकोटी हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री छन् । 

उक्त साधारण सभाले चार वर्षे कार्यकालका लागि विनोद दाहाल संयोजक एवं पुरुषोत्तम अधिकारी र रजनीश आचार्य सदस्य रहेको लेखा समिति बनाएको थियो । 

दुई वर्षपछि अर्थात् २०७९ साल असोज २२ गते आयोजित सहकारीको साधारण सभामा गितेन्द्र बाबु (जीबी) राई समूहले कब्जा जमायो । आफ्नो समूहको बहुमत रहेको भन्दै सो समूहले अर्को समानान्तर सञ्चालक समिति गठन गर्यो । 

राई नेतृत्वको उक्त समितिको उपाध्यक्षमा लिलाबहादुर गुरुङ, सचिवमा ओमप्रकाश गुरुङ, कोषाध्यक्षमा नवीन अछामी र सञ्चालक सदस्यहरुमा दुर्गा चापागाई पाण्डे, असरफ अलि सिद्धिडी र रामहरि अधिकारी चयन भए । 

उता सोही साधारण सभामा हेमन्त अधिकारी संयोजक एवं रविन रिमाल र निर्मला तन्डुकार रहेको लेखा समितिसमेत गठन भएको थियो । यो समितिको अस्तित्वलाई सूर्य गुरुङ नेतृत्वको अघिल्लो पटकको समितिले स्वीकार गरेको छैन ।

 त्यसैले अहिले पनि संस्थाको कार्यालयमा सञ्चालक समितिको दुईवटै समानान्तर बोर्ड रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका एक जना सदस्य बताउँछन् ।

सञ्चालक समिति परिवर्तन नै गैरकानूनी
सामान्यतया सहकारी संस्थामा निर्वाचित सञ्चालक चार वर्षसम्म कायम रहन्छ । त्यस्तो सञ्चालकले राजीनामा दिएको अवस्थामा बाहेक त्यस्तो सञ्चालकले आर्थिक हिनामिना गरेको, सहकारीको कारोबार सम्बन्धी गोपनियता भंग गरेको, समान प्रकृतिको प्रतिस्पर्धी कारोबार गरेको, संस्थाको अहित हुने काम गरेको, शारीरिक र मानसिक रुपमा काम गर्न नसक्ने अवस्था भएकोमा त्यस्तो व्यक्तिलाई सञ्चालक पदबाट हटाउन सक्ने व्यवस्था सहकारी ऐनमा छ । तर त्यसरी हटाउनुअघि सफाइको मौका दिनुपर्ने भनिएको छ । 

 सञ्चालक समिति निर्वाचित भएको दुई वर्ष कुनै कारण बिनै सञ्चालक समितिका सम्पूर्ण सदस्य परिवर्तन गर्नसक्ने अवस्था ऐन बमोजिम देखिँदैन । त्यसैले २०७७ सालमा निर्वाचित उक्त समितिको अहिले पनि वैधानिक अस्तित्व रहेको देखिन्छ । 

यही शंका लागेर सहकारी समस्याग्रस्त घोषणा भएपछि सहकारी विभागले अघिल्लो पटक निर्वाचित सञ्चालक समिति र लेखा समितिका सदस्यको नामसमेत उल्लेख गरेर व्यवस्थापन समितिको कार्यालयमा विवरण पठाएको छ जसमा श्रममन्त्री अर्यालदेखि रास्वपाका सहमहामन्त्री बुर्लाकोटीसम्मको नाम छ ।

सहकारीको सिस्टम नै गायब
समस्याग्रस्त घोषणा भएका सहकारीको जिम्मा पाएलगत्तै व्यवस्थापन समितिले सम्बन्धित सहकारी संस्थामा गएर त्यसको कागजपत्रदेखि सिस्टमसम्म नियन्त्रण गर्ने गरेको छ । तर यो सहकारीमा भने सिस्टम नै गायब पारिएको छ । सिस्टम नभेटिँदा संस्थाले असुल गर्नुपर्ने ऋण के कति हो भन्ने पत्ता लगाउन समस्या भएको समितिको भनाइ छ । 

अहिले व्यवस्थापन समितिले भने पछिल्लो कार्यसमितिमा पदाधिकारीसँग फलोअफ गरिरहेको छ । सहकारीको तल्लो तहका पदाधिकारी र कर्मचारीहरु नियमित सम्पर्कमा भए पनि अध्यक्ष जीबी राई अहिले फरार सूचीमा छन् ।

उनको खोजी गर्न इन्टरपोलमा रेड कर्नर नोटिस जारी भइरहेको बेला अर्का स्टेकहोल्डर अर्याल भने श्रम मन्त्रालयको बागडोर सम्हालिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ