- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितबाट धन्यवाद पाएको भन्दै प्रचारबाजी गरेपछि पोखराको सूर्यदर्शन, चितवनको सहारा र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका पीडितले संयुक्त विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका छन् ।
उनीहरुले सहकारीबाट गैरकानूनी रुपमा ऋण लिएका कम्पनी र ती कम्पनीका सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै कोही कसैले पनि धन्यवाद नदिएको जनाएका छन् ।
सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ, सहारा बचत पीडित संघर्ष समिति संयोजक शालिकराम दुवाडी र सुप्रिम सहकारीपीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै ती कम्पनीमा भएका लगानी फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
इलामको चुनाव प्रचारबाट काठमाडौँ आए पनि लामिछानेले सहकारी पीडितको रकम फिर्ता गर्न सञ्चालकहरुको सम्पत्ति जफत गर्नुपर्ने प्रस्ताव गरेपछि पीडितहरुले मन्त्रालय नै पुगेर धन्यवाद दिएको प्रचार गराएका थिए ।
इलाम २ को उपनिर्वाचनलाई प्रभावित पार्ने गरी गृहमन्त्री रवि लामिछानेको सचिवालयले शुक्रबार गलत सूचना सम्प्रेषण गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले बिहीबार सहकारी समस्या समाधान गर्न कानूनी प्रबन्ध गर्ने निर्णय गरेको विषयलाई गृहमन्त्री लामिछानेले गलत प्रचारबाजी गराका थिए । लामिछानेको सचिवालयले सहकारीसम्बन्धी समस्या द्रूत प्रक्रियाबाट समाधान गर्न पहल गरेकोमा धन्यवाद दिन सहकारी पीडित सिंहदरबार पुगेको भन्दै सञ्चारमाध्यममा ह्वाट्सएप ग्रुपमार्फत प्रेस नोट पठाएपछि सहकारी पीडितहरुले बाध्य भएर यथार्थ के हो भन्दै जानकारी गराएका छन् ।
सहकारी प्रकरणमा लामिछाने आफैँ मुछिएका छन् । यस्तो बेला उनलाई धन्यवाद दिने पीडित को होला भनेर खोजी गर्ने बेलासमेत भएको छ ।
स्रोतका अनुसार सहकारी पीडित भनिएका केही व्यक्तिलाई रवि आफैँले बोलाएर धन्यवाद दिएको प्रचार गराएका थिए । ‘पीडित भनिएका व्यक्तिहरु आफैँ आएका होइनन् गृहमन्त्रीज्यूको सचिवालयबाट बोलाएपछि आएका हुन्’, स्रोतले भन्यो ।
लामिछाने आफैँले फण्डा गरेर धन्यवाद लिएको थाहा पाएपछि वास्तविक पीडितहरुले विज्ञप्ति जारी गरेका हुन् ।
सहकारी पीडितहरुले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जीबी राई समूहले सञ्चालन गरेका सहकारी हाम्रो कृषि सहकारी संस्था, पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा, बुटवलको सुप्रिम, वीरगञ्जको सानोपाइला र नेपालगञ्जको समानता सहकारीका अर्बौँ रुपैयाँ नेपाल सरकारको ऐन कानून र सहकारी ऐन विपरीत लगानी गर्न नमिल्ने नाफामूलक विभिन्न कम्पनी तथा संघसंस्थामा लगानी गरी हजारौँ बचतकर्ताको अर्बौँ रुपैयाँ हिनामिना हुँदासमेत यो सरकार मौन छ ।’
यी सहकारीबाट जीबी राई समूहको गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्ब, नेचर नेस्ट, गोर्खा ग्रुप अफ इन्भेस्टमेन्ट, स्प्रिङउड रियल स्टेट एन्ड हाउजिङलगायत कम्पनीमा करोडौँ रुपैयाँ ऋण प्रवाह भएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छानबिन प्रतिवेदनमा जीबी राई समूहको संलग्नतामा विभिन्न कम्पनीमा करोडौँ रुपैयाँ ऋण प्रवाह गरी अपचलन गरेको उल्लेख छ । चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा समस्या देखिएपछि ०८० असोज ९ बाट छानबिन हुँदा बनेको प्रतिवेदनमा विभिन्न ९–१० वटा कम्पनीमा करोडौँ रुपैयाँ जीबी राईलगायत अन्य व्यक्तिको मिलेमतोमा दुरुपयोग भएको देखिन्छ ।
०८० चैत्र ४ मा तीमध्ये ६ वटा कम्पनी विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पीडितले जाहेरी दरखास्त बुझाएका थिए । त्यतिबेला कम्पनीको तीन पुस्ते विवरण नभएको भन्दै उक्त विवरण उपल्ब्ध गराएपछि प्रक्रिया अघि बढाउने सहमति भएको थियो । कम्पनी र तिनका सञ्चालकविरुद्ध मुद्दा दर्ताको प्रक्रिया हालसम्म अघि बढेको छैन ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्बन्धमा ०८० भदौमा प्रहरीमा जाहेरी परेपछि भएको छानबिनमा जीबी राई समूहको संलग्नतामा करोडौँ रुपैयाँ कम्पनीको नाममा ऋण लगानी गरेको फेला परेको थियो ।
०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारी पीडितले १४ वटा विभिन्न कम्पनीविरुद्ध दिएको जाहेरी दरखास्त पनि हालसम्म अलपत्र बनेर प्रहरी कार्यालयमै थन्किएर बसेको छ ।
‘यी सबै काम कारबाहीको विषयमा कुनै पनि कुरा अघि नबढ्नु, ती कम्पनीका सञ्चालक र उनीहरुको व्यापार, व्यवसाय र लगानी, ती कम्पनीका धन सम्पत्ति र आयस्रोत र कम्पनीको हालको अवस्थाको बारेमा कुनै पनि छानबिन, अनुसन्धान र कारबाही नहुनु पछाडिको रहस्य हामीले बुझेका छैनौँ, यो सरकारले ती सम्पूर्ण कम्पनीको आय आर्जन र धन सम्पत्तिको कुनै अनुसन्धान र रोकछेक नगर्नुको पछाडिको कारण आम सहकारी पीडितलाई प्रस्ट पारियोस्,’ उनीहरुले निकालेको विज्ञप्तिमा भनिएको छ ।
पीडित बचतकर्ताको रकम फिर्ता गर्ने गरी समस्या समाधान गर्न सरकारले हालसम्म पनि ठोस कद नचालेको विज्ञप्तिमा बताइएको छ । सहकारीका समस्या समाधान गर्नुपर्ने नियामक निकाय, अनुसन्धानकर्ता र कानूनी पहरेदारनै सरकारबाट प्रभावित भई पीडितले न्याय पाउने बाटोमा काँडेतार भएर उभिएको विज्ञप्तिमा उल्लेख छ ।
सहकारीको बचत नाफामूलक क्षेत्रमा लगानी गर्न विभिन्न कम्पनी तथा प्रालिको प्रयोग गर्ने क्रममा कतिपय अवस्थामा बदनीयतपूर्ण ढंगले सञ्चालक स्वयं ती कम्पनीका मालिक भएको विज्ञप्तिमा उल्लेख छ ।
कतिपय अन्य व्यक्ति ती कम्पनीका सञ्चालक छन् । सहकारीको बचत हिनामिना हुँदै गर्दा कतिपय अवस्थामा सहकारीका सञ्चालक, पूर्व सञ्चालकले आफ्नो प्रत्यक्ष सहभागिता नदेखाइकन अन्य व्यक्तिको प्रयोग गरी आफू रकम अपचलन र बचत दुरुपयोग गर्ने काममामात्र सीमित रहेको पाइएको छ ।
सहकारी ऐन, २०७४ को दफा ३० मा सहकारीको सदस्य बन्न कार्यक्षेत्र भित्र बसोबास गरेको, सहकारी विद्यालय, सामुदायिक विद्यालय गुठी, सेवामुलक संस्था हुनुपर्ने व्यवस्था छ ।
अर्थात नाफामूलक निजी कम्पनी सहकारीको सदस्य हुन नपाउने व्यवस्था गरेको छ । कुनै कम्पनी या प्रालिलाई सदस्यता प्रदान गर्ने कुरा कानूनले दिँदैन र सदस्य हुन पनि पाइँदैन । सहकारी ऐनको दफा ५० ले सदस्य केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ ।
उपदफा (१) मा भनिएको छ– सहकारी संस्थाले आफ्ना सदस्यहरूको मात्र बचत स्वीकार गरी, सोको परिचालन गर्ने र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्नेछ । अर्थात सदस्य बाहेक अन्यले ऋण लिन पाउँदैनन् । कुनै पनि कम्पनी या प्रालिलाई सहकारीले ऋण प्रदान गर्न मिल्दैन । उक्त व्यवस्था विपरीत कुनै व्यक्तिले कुनै कम्पनी या प्रालिको तर्फबाट ऋण लिनु गैरकानूनी ठहर्छ ।
सहकारी ऐनको दफा १२२ (त) मा सहकारी संस्थालाई हानि नोक्सानी पुर्याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्ने वा गराउन, कुनै किसिमको रकम लिन वा दिन वा गैर कानूनी लाभ वा हानि पुर्याउने बदनियतले कुनै कार्य गरे वा गराएमा कसूर गरेको मानिने उल्लेख छ ।
यस्तो कसूरको सम्बन्धमा सहकारी ऐनको दफा १२४ (१) (घ) मा एक करोड रुपैयाँ भन्दा बढी १० करोड रुपैयाँसम्म बिगो भए चार वर्षदेखि ६ वर्षसम्म कैद, १० करोड रुपैयाँदेखि माथि छ वर्षदेखि आठ वर्षसम्म कैद तोकिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा ३० मा संगठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुने किटानी कानूनी व्यवस्था रहेको छ । कम्पनीको सञ्चालक, प्रबन्ध निर्देशक, महाप्रबन्धक कार्यकारी पद भएकोले आपराधिक दायित्व रहन्छ ।
‘ऋण लिँदाका बखत कुनै पनि कम्पनीका सञ्चालक तथा अन्यले आपराधिक दायित्वबाट उन्मुक्ति पाउन नसक्ने देखिन्छ, यसरी हाम्रो अहिलेको मौजुदा ऐन कानूनमा उल्लेखित हुँदासमेत हामी हजारौँ सहकारी निक्षेपकर्ता कुनै दुई–चारजना गलत नियत भएका सहकारी सञ्चालक या कम्पनी सञ्चालकबाट ठगिँदै गर्दा यो सरकारको ध्यान गएको छैन । कुनै अनुसन्धान र कारबाहीको प्रक्रिया अघि नबढ्दा हामी पीडित बचतकर्ताको न्यायको विषयमा प्रश्नचिह्न खडा भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
अगाडि भनिएको छ, ‘हामीलाई फेरि भुलभुलैयामा पारेर अल्मल्याउन खोजिएको छ । हामी पीडितलाई आश्वासन देखाएर सहकारी ठगी गर्ने र पसिनाको पैसामा मस्ति गर्नेहरुलाई उम्काउने र ढाकछोप गर्ने कुनै पनि बाटो नहोस् ।’
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्था आयो भने पीडितका घाउमा थप पीडा थपिने छ । अतः टालटुले आश्वासन होइन, तत्काल हाम्रो रकमको रक्षा र फिर्ता होस् । रकम दिने र लिनेलाई हदैसम्म कारबाही होस् ।’