नेपाली भूमिबाट भारतीय नागरिक ठग्ने चिनियाँ गिरोहको पर्सा प्रहरीले गर्यो पर्दाफास
शंका लागेर पछ्याउँदा प्रहरीले पाएको ठूलो सफलता
दिपेन्द्र चौहान,
प्रकाशित २०८० चैत १८ आइतबार
721
Shares
वीरगञ्ज। अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन चिनियाँ नागरिकलाई आइतबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेहरुमा ३३ वर्षीय लिउ ग्यु साई, २६ वर्षीय वाङ बोहन र ३६ वर्षीय छिङ्ग छावो हुन् । तीन जनालाई सार्वजनिक गरे पनि अरु थप दुई जना चिनियाँ नागरिक पनि हिरासतमा रहेको प्रहरी स्रोतले बताएको छ ।
उनीहरुले वीरगञ्ज महानगरपालिका– १५ स्थित नन्दु पटेलको घरमा भाडा लिई कल सेन्टर स्थापना गरी कर्मचारीहरु राखेर नेपाल, भारत र पाकिस्तानका नागरिकलाई सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए ।
पक्राउ परेका उनीहरुको साथबाट कम्प्युटर डेक्सटप सीपीयू एक सय २० थान, मनिटर १ सय १८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड, इन्टरनेट स्विच ५ थान, वाईफाई सेट २ थान, भारतीय सिम १३ थान, मिनि इन्भरटर २ थान, बीआर ०१ सिएक्स ५७९२ नम्बरको गाडी, प्र २–०३–०११ प १३६७ नम्बरको एक मोटरसाइकलसहित ४३ हजार नेपाली रुपैयाँ, ३५ सय कम्बोडियन रुपैयाँ र ३ थान पासपोर्ट बरामद गरेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।
पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धानपछि अन्य मुद्दा चलाउने प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।
वीरगञ्जको भाटभटेनीमा जाँदा शंकास्पद गतिविधिमा संलग्न रहेको शंका लागेर पछ्याउँदै जाँदा चिनियाँ गिरोह फेला परेको उनले जानकारी दिए ।
यो कल सेन्टरमा काम गरेबापत नेपालीहरुलाई दैनिक ८०० रुपैयाँ दिएर काम लगाएकोसमेत पाइएको छ ।
पछिल्लो समय चिनियाँ आपराधिक गतिविधि मधेस केन्द्रित हुँदै गएको छ ।