arrow

बन्दोबस्तीका सामान बोकेर गोठाला लेकतर्फ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
bheda-changra-mustang.jpg
तस्बिर-फाइल

म्याग्दी । म्याग्दीका पशुगोठ लेकमा सार्न थालिएको छ । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउँदै गोठाला बेंसीबाट लेकतर्फ लागेका हुन् ।

चिसोमा न्यानोका लागि बेंसी झारिएका भेडाबाख्रा, गाईभैंसी, घोडा र चौँरी गाईका घुम्ती गोठहरु लेकमा सार्न थालिएको छ ।  

रघुगङ्गा गाउँपालिका-८ का भेडापालक कृषक पदम छन्त्यालले पात्लेखर्क, सानो धुरी, ठूलो धुरी, रिहगाड हुँदै असारको पहिलो साता रिरुको बुकी पुग्ने गोठ भदौ महिनासम्म त्यहाँ रहने बताए । 

“उभौली लागेपछि गोठ लेकतर्फ लैजान थालेका छौँ । पालुवा पलाउँदै गरेको पोषिलो घाँस खुवाउन दुई/तीन दिनका ठाउँ फेर्दै गोठ सार्दैसार्दै चार हजार आठ सय मिटर उचाइको रिरुको बुकीमा पुग्छौँ”, उनले भने, “गोठालालाई चाहिने खाद्यान्न, लत्ताकपडा र भेडालाई नुनसँगै बोकेर हिँडेका छौं ।”  

चालिस वर्षीय छन्त्यालले वैदेशिक रोजगारको विकल्पमा बाबुबाजेले गर्दै आएको भेडापालनलाई निरन्तरता दिएका छन् ।

उनले झण्डै चार सय भेडा पालेका छन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । 

असार, साउन र भदौमा बुकीमा चराएपछि असोजमा गोठ दसैंको असपासका गाउँबस्ती नजिकै ल्याउने चलन छ । हिउँदमा बेंसीका फाँटमा ल्याइने गोठ बर्खामा हिमालको फेदीका बुकीमा पुग्ने गर्दछन् । 

गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर गोठाला लेकतर्फ लागेका छन् ।

करिब तीन/चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धवलागिरि गाउँपालिका-३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताए । 

बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । लेकका बुकीका चरन क्षेत्रलाई गाउँअनुसार विभाजन गरिएको छ ।

पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् ।

म्याग्दीमा करिब दुई सय घुम्ती गोठ रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र केन्द्रका प्राविधिक गणेश रिजालले बताए । घुम्ती गोठका लागि केन्द्रले सहयोग गर्दैआएको उनले बताए । रासस



लोकप्रिय समाचार
नयाँ