arrow

इजरेलमाथि सिरियामा वाणिज्य दूतावासमा हमला गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

काठमाडौँ ।  क्षेत्रीय तनाव बढ्ने गरी इजरेलमाथि दोष लगाइएको घातक हमलाले तेहरानको दमास्कसस्थित वाणिज्य दूतावासलाई ध्वस्त पारेको एक सातापछि इरानका विदेशमन्त्रीले सोमबार सिरियाली राजधानीको भ्रमण गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

दमास्कसको प्रमुख सहयोगी तेहरानले गत सोमबार इरानी दूतावासको कन्सुलर खण्डमा भएको हवाई हमलाको बदला लिने वाचा गरेको छ । उक्त हमलामा दुई जनरलसहित सात इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) का सदस्य मारिएका थिए । 

उक्त हमला इजरेल र हमासबीच जारी युद्धको पृष्ठभूमिमा भएको थियो । अक्टोबर ७ मा इजरेलमाथि हमासबाट सुरु भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको ज्यान गएको थियो । दमास्कस र तेहरानले हमलाका लागि इजरेललाई दोष दिएका छन् तर इजरेलले यसबारेमा कुनै टिप्पणी गरेको छैन । 

इरानी विदेशमन्त्री होसेन अहिर–अब्दुल्लाहियानले एक दिनअघि लामो समयदेखि तेहरान र पश्चिमबीच मध्यस्थकर्ता रहेको ओमानको क्षेत्रीय भ्रमण सुरु गरे । ओमान भ्रमणका क्रममा मस्कटका विदेशमन्त्रीले तनाव कम गर्न आह्वान गरेका छन् । 

भ्रमणका क्रममा अमिर–अब्दुल्लाहियानले सिरियाका राष्ट्रपति बशर अल–असद र विदेशमन्त्री फैसल मेकदादसँग भेट गर्ने तयारी गरेका छन् । सिरियाको सूचना मन्त्रालयले भने विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले नयाँ इरानी कन्सुलर खण्डको उद्घाटन गर्ने बताएको छ । 

सिरियाको सरकार समर्थक अखबार अल–वतनले अधिकारीहरूको छलफल ‘मुख्यरूपमा गत साताको हमलाको नतिजामाथि केन्द्रित’ हुने बताएको छ । 

इरानका सर्वोच्च नेताका एक सल्लाहकारले आइतबार सिरियामा हमलापछि अब इजरेली दूतावासहरू ‘सुरक्षित नभएको’ चेतावनी दिएका छन् । विश्लेषकहरूले यसलाई गाजा क्षेत्रमा इजरेल–हमास युद्धभन्दा पर व्यापक युद्ध सुरु गर्ने जोखिम उठाउने इरान र उसका क्षेत्रीय प्रतिनिधिहरूविरुद्धको अभियानको वृद्धिका रूपमा हेरेका छन् ।  

बेलायतस्थित युद्ध निगरानीकर्ता सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सोमबारको हमलामा १६ जना मारिएका थिए । मारिनेमा आठ इरानी, पाँच सिरियाली, लेबनानको हिजबुल्लाह समूहका एक सदस्य र दुई सर्वसाधारण रहेका थिए । 

मृतकहरूमा जनरल मोहम्मद रजा जाहेदी र मोहम्मद हादी हाजी रहिमी पनि थिए । उनीहरू आइआरजिसीको विदेशी अपरेसन शाखा कुद्स फोर्सका वरिष्ठ कमान्डर थिए । 

इजरेलले १३ वर्षअघि गृहयुद्ध सुरु भएयता सिरियामा सयौँ हवाई हमला गरेको छ । हमलामा इजरेलले हिजबुल्लाहसहित इरान समर्थित बलहरूका साथै सिरियाली सेनाका स्थान र हतियार भण्डारलाई निशाना बनाएको छ । 

तेहरानले हमासलाई समर्थन गर्दछ तर उसले हमलामा कुनै पनि प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ । हमासको हमलापछि गाजा क्षेत्रमा ठूलो मात्रामा इजरेली जवाफी कारवाही भएको छ । 
 



लोकप्रिय समाचार
नयाँ