arrow

इरानमाथि आक्रमण गर्ने इजरेलको धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
iran-isreal-supreme-leader.jpg

काठमाडौँ । इजरेलका विदेशमन्त्रीले बुधबार इरानले इजरेलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन्। 

सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबीच तनाव बढेको छ । 

विदेशमन्त्री इजरेल काट्जले फारसी र हिब्रू दुवै भाषामा सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नुभएको छ, “यदि इरानले हाम्रो क्षेत्रमा हमला गर्यो भने इजरेलले जवाफ दिनेछ र इरानमाथि आक्रमण गर्नेछ ।”

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले यसै महिनाको प्रारम्भमा दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको हमलामा इजरेलविरुद्ध जवाफी कारवाही गर्ने वाचा दोहोर्याएपछि विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो । 

इरानले १२ जनाको मृत्यु हुनेगरी वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजरेललाई दोष दिएको छ । इजरेलले आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ । यद्यपि इजरेलले आक्रमणका लागि इरानी प्रतिक्रियाको तयारी गरिरहेको छ । यो उनीहरूबीच लामो समयदेखि जारी छाया युद्धमा महत्त्वपूर्ण वृद्धि हो । 

खमेनीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यको उत्सव मनाउने प्रार्थना समारोहमा हवाई हमला ‘गलत’ थियो भन्दै यो इरानी क्षेत्रमा हमला गरिएको जस्तै भएको बताए । इरानी राज्य टिभीमा प्रसारित टिप्पणीमा उनले भने, “उनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा हमला गर्दा हाम्रै क्षेत्रमा हमला गरेको जस्तो भएको छ, दुष्ट शासनलाई दण्डित गरिनुपर्छ र उसलाई दण्डित गरिने छ ।”

काट्ज र खमेनी दुवैले कस्तो प्रकारको जवाफी कारवाही गर्ने भन्नेबारे विस्तारमा बताएका छैनन् । अप्रिल १ मा भएको विस्फोटमा मारिएका १२ जनामा सात इरानी रिभोल्युसनरी गार्डका सदस्य, चार सिरियाली र एक हिज्बुल्लाह मिलिसिया सदस्य थिए । 

खमेनीले गाजामा हमासविरुद्धको युद्धमा इजरेलको समर्थन गरेकामा पश्चिम विशेषगरी अमेरिका र बेलायतको पनि आलोचना गर्नुभयो । “उनीहरूले यो प्रकोपमा इजरेललाई रोक्नेछन् भन्ने अपेक्षा गरिएको थियो, उनीहरूले त्यसो गरेनन्, पश्चिमी सरकारहरूले आफ्नो कर्तव्य पूरा गरेनन्”, उनले भने । 

इरानले प्यालेस्टिनी हमास र लेबनानी हिज्बुल्लाहजस्ता इजरेलविरोधी समूहहरूलाई समर्थन गर्दछ । उसले इजरेललाई मान्यता दिँदैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ